प्रेस इन्स्टिच्युटमा आधारभूत पत्रकारिता शुरु

470
Shares

विराटनगर । नेपाल प्रेस इन्सिटच्युटले आइतवारदेखि आधारभूत पत्रकारिता तालिम शुरु गरेको छ ।

क्षेत्रीय स्रोत तथा सञ्चार केन्द्र विराटनगर, नेपाल प्रेस इस्टिच्यूटको आयोजनामा भएको तालिमको उद्घाटन वरिष्ठ पत्रकार तथा प्रशिक्षकद्वय कपिल काफ्ले र यज्ञ शर्माले गर्नुभएको थियो ।

भच्र्युअल माध्यमबाट प्रारम्भ गरिएको उक्त तालिममा प्रदेश–१ लगायतका २० पुरुष र १० महिला गरी जम्मा ३० प्रशिक्षार्थी सहभागी रहेको सञ्चार केन्द्रका संयोजक वीरेन्द्र शर्माले जानकारी दिनुभयो ।

दुई महिनासम्म सञ्चालन हुने तालिमको पहिलो एक महिना सघन प्रयोगात्मक कक्षा हुनेछ भने पछिल्लो महिना प्रशिक्षार्थीलाई पायक पर्ने सञ्चार माध्यममा अभ्यास गराइनेछ ।

‘काठमाडौंबाट दुई सहभागी छन्, उनीहरुलाई मेरै सम्पादनमा प्रकाशित नेपाल समाचारपत्रमा समेट्ने मेरो सोचाइ छ’ प्रशिक्षक काफ्लेले बताउनुभयो– पहिलो महिनामा जति सक्रियता देखाउन सक्यो, मिडियामा गएपछि सहभागीले उति राम्रो अवसर पाउनेछन्, हुनसक्छ कतिले तत्कालै रोजगारी नै पाऊन् !

२०४१ सालमा स्थापना भएको नेपाल प्रेस इन्ष्टिच्यूटका विराटनगर र नेपालगञ्जमा क्षेत्रीय स्रोत तथा सञ्चार केन्द्र रहेका छन् । केन्द्र तथा क्षेत्रबाट आधारभूत तथा विशिष्टीकृत तालिम सञ्चालन हुँदै आएको संयोजक शर्माले जानकारी दिनुभयो ।

एनपिआईको ‘१० महिने पत्रकारिता तालिम’ संस्थाको पहिचान गराउने कार्यक्रमका रुपमा परिचित छ । एनपिआईले आगामी फागुनमा ‘पत्रकारिता प्रशिक्षक–प्रशिक्षण’ कार्यक्रम पनि सञ्चालन गर्ने संस्थाका कार्यकारी सदस्य समेत रहनु भएका काफ्लेले जानकारी गराउनु भयो ।