गण्डकी मौलिकता कथाहरूको संगालो ‘सन्तापको धून’माथि परिसंवाद



विराटनगर  ।

कथाकार डा. अशोक थापाको कथाकृति ‘सन्तापको धून’माथि विराटनगरमा परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । पूर्वाञ्चल साहित्य परिषद्, विराटनगरले नेपाल पत्रकार महासंघको भवनमा वरिष्ठ साहित्यकार तथा परिषद् उपाध्यक्ष भूषण ढुङ्गेलको सभापतित्व तथा समालोचक दधिराज सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको थियो ।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापकसमेत रहेका थापाले गण्डकी पानीढलोमा प्रचलित मौलिकतालाई टिपेर सिर्जना गरेका कथाहरूले मौलिकता र आधुनिक परिवेशलाई जोड्ने प्रयास गरिएको परिचर्चा भयो । कृतिमाथि बोल्दै समीक्षक शुभलक्ष्मी लम्सालले थापाका कथाले उज्यालो यात्रालाई इंगित गरेको टिप्पणी गरिन् । पोखरा आसपासको स्थानीय रङ, लवज र भाषाको लेपनले कथामा नवीन बान्की भरेको उनको धारणा थियो । कथाहरूले विगत र वर्तमानका परिवेशबीच सादृश्यता कायम गरेको पनि टिप्पणी गरिन् ।

पछिल्लो समय तटस्थ समालोचकको रूपमा ख्याति आर्जन गरिरहेका समालोक महेश पौड्यालले थापाका कथाभित्र भेटिने विसङ्गतिको चित्रण उज्यालोकै लागि भएको बताए । थापाले कथामा आफूले देखे–भोगेको यथार्थको चित्रण गर्ने प्रयास गरेको पनि बताए ।

कार्यक्रममा दधिराज सुवेदीले कथा साहित्यमा विविध रसका सुन्दर कथा आउनु ज्यादै खुसीको विषय भएको बताए । सभापति ढुङ्गेलले लेखकलाई सफलताको निम्ति शुभकामना दिए । कवि मीनकुमार नवोदितद्वारा संयोजन गरिएको कार्यक्रममा विराटनगर र आसपासका दर्जनौं स्रष्टाहरूको उपस्थिति थियो । पुस्तकलाई पेज टर्नर प्रालिले बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्