विमान दुर्घटना : पोखरामा सन्नाटा, मृतकका आफन्त अचेत



पोखरा । यती एयरलाइन्सको विमान दुर्घटनामा परेको खवर सार्वजनिक भएपछि सो विमानमा यात्रा गरेका यात्रुका आफन्त विमानस्थल र दुर्घटनास्थल तर्फ पुगेका थिए । विमानमा सवार यात्रुका आफन्तको रुवावासीले विमानस्थलमा सन्नटा छाएको थियो भने दुर्घटनास्थलमा पुगेका आफन्तलाई संझाउन आफन्तलाई हम्मे हम्मे परेको थियो ।

विमान दुर्घटनास्थलबाट संकलन गरिएका शवहरु प्रदेश अस्पतालमा लगिएको थियो । शवहरु चिन्न नसक्ने अवस्थामा रहेको थियो भने आफन्तहरु शव पहिचान गर्न अस्पतालमा लाम लागेका थिए ।
अस्पतालमा जम्मा भएका आफन्तको रोदनले अस्पताल वरपर रहेका स्थानीयको समेत आंखा रसाएका थिए । उक्त दुर्घटनामा परेर कसैले श्रीमान गुमाएका थिए भने कतिले श्रीमती गुमाएका थिए । कतिका छोरा छोरी त कतिका आफन्तले विमान दुर्घटनामा ज्यान गुमाएका थिए ।

सो विमानका चालक कमल केसीको घर पोखरामा नै रहेको छ । उक्त विमान दुर्घटनाको खवर पाएपछि वुवा बीरेन्द्र केसी र आमा मिना केसी अस्पताल पुगेका थिए । पाइलट छोराको मृत्यु भएको खवर पाएपछि वेला वेलामा वेहोस हुदै आएकी आमाले छोरा कमलको पटक पटक ठुलो ठुलो स्वरले नाम लिंदा अस्पतालमा सन्नटा छाएको थियो । पाइलट कमलका वुवा भने एकोहोरो टोलाई रहेका थिए ।

गहभरी आंशु पारेर बसेका केसीलाई संझाउन जानेहरु पनि भक्कानिदै फर्कने गरेका थिए । तीन दिन अघि छोरासंग कुरा गरेका केसी छोराको निधनको खवरले सिथिल देखिनु भएको थियो ।
त्यस्तै उक्त विमानमा परेर निधन भएका आफन्तहरुको रोदनले पनि पुरा पोखरावासीलाई स्तव्ध बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्