सार्वजनिक सुनुवाईमा नागरिकको प्रश्नै-प्रश्न, जनताको गुनासो बढी, सकारात्मक कुरामा नगरको जोड



स्याङ्जा । सुशासनका लागि सार्वजनिक सुनुवाई एउटा महत्वपूर्ण औजार हो । सार्वजनिक पद धारण गरेका व्याक्ति र आम नागरिकबीच हुने सार्वजनिक सुनुवाईले दुवै पक्षलाई लाभ पु¥याउँछ । सार्वजनिक सुनुवाई गर्ने कार्यालयले आफुले गरेका काम नागरिकमाझ पु¥याउने र नागरिकले त्यसमा प्रश्न गर्ने, सुझाव दिने, आगामी दिनका योजनामा सुझाव लिन सार्वजनिक सुनुवाईले एउटा पुलको काम गर्दछ ।

यसै क्रममा जिल्लाको भीरकोट र पुतलीबजार नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आर्थिक बर्ष २०७९÷८० मा हालसम्म सम्पन्न भएका काम र सेवा प्रवाहका सन्दर्भमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । नवनिर्वाचित जनप्रतिनिधि आएपछी नगरपालिकामा पहिलोपटक भएको सार्वजनिक सुनुवाईमा योजना र सेवा प्रवाहका सन्दर्भमा जनताका गुनासो आएका थिए । नवनिर्वाचित प्रतिनिधि आइसकेपछि जनताको मर्म र भावनालाई बुझेर काम हुनुपर्ने आशा भएपनि हुँदै गरेका कामहरुको समेत गुणस्तरीयता नभएको तथा पुराना योजनाहरु पनि स्थानीय तह आएपछि ओझेलमा परेको सहभागिहरुले गुनासो गरेका छन् ।

भीरकोटको सार्वजनिक सुनुवाईमा भीरकोट २ का खेम केसीले कृषि पकेट कार्यक्रम बनाएर कृषकहरुको हितमा काम गर्नुपर्नेमा नगरपालिकाले त्यसो नगरेको गुनासो गर्नुभयो । आलुबिउ संरक्षणको आशमा सयौँ कृषकले कोल्ड स्टोरमा राखेको बिउ कुहिदा पनि क्षतिपुर्ति नपाएको भीरकोट ५ का ईन्द्रप्रसाद पौडेलकोे भनाई छ । कार्यक्रममा खानेपानी र सडकको गुणस्तर देखि नगरपालिकाको सेवा प्रवाहको सन्दर्भमा समेत प्रश्न उठेका थिए । स्थानीय भक्त बहादुर केसीले नगरपालिकाले रोजगारी सिर्जनामा ध्यान नदिएको, दुधको प्रशोधन केन्द्र निर्माण नगरेको, जनप्रतिनिधि आफै ठेक्कापट्टामा संलग्न भएको, बालमैत्रीका सुचक पुरा गर्न नसकेको र सडक दिगो भए नभएको अनुगमन नभएकोबारे प्रश्न उठाउनुभएको थियो भने नुवादत्त अर्यालले नगरपालिकाले शुद्ध खानेपानी उपलब्ध गराउनुपर्ने माग गर्नुभयो । शिक्षा तथा स्वास्थ्य क्षेत्रमा भीरकोट अस्तव्यस्त भएको भन्दै भीरकोट १ का तोयनारायण श्रेष्ठले भीरकोटलाई शैक्षिक हब गराउन समस्या भएको गुनासो गर्नुभयो । भीरकोटका धेरै बिद्यार्थी पढ्न बाहिर गएका छन भन्दै शैक्षिक गुणस्तरमा ध्यान दिन नसक्नु नगरपालिकाको कमजोरी भएको उहाँको भनाइ छ ।

नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले उठेका प्रश्नहरुको जवाफ सहित नगरपालिका सुशासन र पारदर्शितामा संधै उदार रहेको बताउनुभयो । नगरपालिकामा आएका समस्याहरुलाई समाधान गर्ने र नगरले कृषकमैत्री कार्यक्रम समेत ल्याएको उहाँको भनाई छ । कतीपय सवालहरु शंकाको आधारमा पनि आउने गरेको भन्दै उहाँले भीरकोट नगरपालिकामा भएका काम कारवाहीहरु जनमूखि हुने गरेको दावी गर्नुभयो ।

जवाफदेहिताको प्रमुख भुमिकामा रहनुभएका पालिका प्रमुख कर्माचार्यले भन्नुभयो, पालिकाले काम गर्दै गर्दा जनताको अपेक्षा अनुरुप काम कारवाही नभएको हुन सक्दछ । जनअपेक्षा के छ भन्ने वुझ्नका लागी पनि यो नागरिक सुनुवाई कार्यक्रम महत्वपुर्ण हुनेछ । नगरपािलका जनताको आवश्यकता पुरा गर्न र विकास निर्माणमा सधै हातेमालो गरेर अगाडी वढ्न चाहेको प्रमुख कर्माचार्यले बताउनुभयो । पालिकाले आवश्यक नियम, कानुन र कार्यविधी निर्माण गरेर अगाडी वढेको कर्माचार्यको भनाई छ ।

प्रमुख कर्माचार्यले जनताको सुख दुखमा सधै साथसाथै हिड्ने वताउनुभयो । जनताको चाहना पुरा गर्नु नै हाम्रो कर्तव्य हो । कमीकमजोरी सच्चाएर पालिका संमृद्ध वनाउन हामी तत्पर छौ । हाम्रो कमी कमजोरीलाई औल्याई सुझाव दिनुहुन अनुरोध गर्दछौ, प्रमुख कर्माचार्यले भन्नुभयो । पालिकामा कुनै पनि उमेरहद नाघेका कर्मचारी नभएको र कर्मचारीहरु समयमा उपस्थित नहुने प्रश्न आएको हुदाँ कर्मचारीलाई जिम्मेवारी किसिमले काम गर्न निर्देशन दिनुभयो । पालिकाले उत्पादन र श्रमलाई सँगै लैजान खोजेको हुदाँ राजनैतिक आग्रह पुर्वाग्रहमा पालिका नरहेको समेत वताउनुभयो ।

सुशासन र जिम्मेवारीता वहन अन्तर्गत नगरपालिकाको कमी कमजोरीका वारेमा जानकारी लिनका लागी नगरपालिकाले नागरिकसँग सुझाव र सल्लाह मागेको नगर उपप्रमुख भगवती रेग्मी अर्यालले बताउनुभयो । नगरपालिकाले श्रावण देखि कार्तिक महिनासम्म गरेको कामको वारेमा जानकारी र नागरिकको गुनासो तथा सुझाव लिनका लागी सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको पालिकाका प्रमुख प्रशाशकिय अधिकृत रामप्रसाद पौडेलले जानकारी दिनुभयो । नगरपालिका आफै जनउत्तरदायी हुदाँहुदै पनि अझ परिस्कृत वनाउने प्रयास स्वरुप सार्वजकि सुनुवाई कार्यक्रम गरिएको अधिकृत पौडेलले वताउनुभयो । यसैगरि कार्यक्रममा पालिकाका विषयगत प्रमुखहरुले आफ्नो क्षेत्रका प्रगती विवरण र जनताको प्रश्नको जवाफ दिएका थिए । सार्वजनिक सुनुवाईमा नगरपालिकासँग भए गरेका कामको गुनासो र जवाफ दिने काम भएको थियो ।

कार्यक्रममा स्थानिय समुदायले नगरपालिकाका काम कारवाही र गुनासोको वारेमा प्रश्न राखेका थिए । अन्तरक्रियात्मक तरिकाले गरिएको कार्यक्रममा सम्वन्धित प्रश्नको उत्तर सम्वन्धित निकायका विषयगत प्रमुखवाट दिईएको थियो । कार्यक्रमको सहजीकरण छायांक्षेत्र मिडिया प्रा.लि.ले गरेको थियो । पालिकाका प्रमुख गोविन्द कुमार कर्माचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा उपप्रमुख भगवती रेग्मी अर्याल, प्रमुख प्रशाशकिय अधिकृत रामप्रसाद पौडेल, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य, स्थानिय समाजसेवी, वुद्धिजीवि, सरोकारवाला, टोल अध्यक्ष लगायत सर्वसाधारणको उपस्थिती रहेको थियो ।

यसैगरी जिल्लाको पुतलीबजार नगरपालिकाले वडा नं. १४ सतौकोटमा प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७९/८० को प्रथम चौमासिक अवधिमा भए गरेका योजना तथा कार्यक्रमहरुको समिक्षा सहित सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले जिल्ला अस्पतालमा डायलसिस निशुल्क शुरु गरिएको बताउनुभयो । उहाँले लामागे चण्डीस्थानको डीपीआर पछाडी स्तरोन्नती गर्ने बताउदै अधुरा अयोजनाहरुमा काम शुरु गरिएको बताउनुभयो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा पालिकाले शिक्षा विभागको निर्देशनमा शिक्षकहरुको खटनपटन गर्नुपरेको बताउदै वास्तविकताका आधारमा दरबन्धी मिलान गरिने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका नगर सहसचिव प्रकाश पौडेल, नेकपा एमालेका नगर सचिव अमृत नेपाली, नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज नारायण प्रसाद लम्साल, राप्रपाका जिल्ला सचिव श्यामकृष्ण श्रेष्ठ, स्याङजा च्याम्बर अफ कमर्शका उपाध्यक्ष डोलराज शर्मा (कृष्ण), पाणिनी आश्रमका वरिष्ठ उपाध्यक्ष चुडामणी शर्मा, रजश्थल माविका प्रअ लेखनाथ ढकाल, भुपेन्द्र पौडेल, ज्ञानेन्द्र ढकाल, गंगाबहादुर जिटी, रामप्रसाद ढकाल र जगत केसी लागयतले नगरका योजना तथा सेवा प्रवाहका विषयमा जिज्ञासा राखेका थिए ।

उठेका जिज्ञासाको जवाफ दिदै प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्याल, शिक्षा शाखा प्रमुख बाबुराम बराल, योजना तथा राजश्व शाखाका प्रमुख ताराचन्द्र ढकाल, बातावरण तथा प्रशासन शाखा प्रमुख धनप्रसाद कोईराला र राजश्व शाखाकी सिर्जना लामिछाने लगायतले सेवा प्रवाहलाई गुणस्तरीय र प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्