सुदूरपश्चिममा सभामुख चयनका लागि पुनः मतदान हुँदै



धनगढी । सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि शुक्रबार पुनः मतदान हुने भएको छ । यसअघि बिहीबार मतदान भएकोमा कुनै पनि उम्मेदवारको बहुमत नपुगेपछि पुनः मतदान हुने भएको हो ।

आज फेरि बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा मतदानको कार्यक्रम तय गरिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।

उनका अनुसार बिहीबार सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का भीम भण्डारीले २६ र नेपाली कांग्रेस गठबन्धनका उम्मेदवार मानबहादुर रावलले २३ मत प्राप्त गरेका थिए ।

एउटा मत बदर र एमालेका एक जना प्रदेशसभा सदस्य निर्धारित समयमा प्रदेशसभा भवनमा प्रवेश गर्न नसक्दा बहुमत पुगेको थिएन । यस्तै नागरिक उन्मुक्ति पार्टीका एक जना प्रदेशसभा सदस्य पनि मतदानमा अनुपस्थित बनेका थिए ।

सुदूरपश्चिममा ५३ जना प्रदेशसभा सदस्य रहेकोमा २७ जनाको बहुमत समर्थन आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्