काभ्रेमा पोल्ट्रि दिवस मनाईदैं, गर्भवति र विद्यार्थीलाई ‘अण्डा’



काभ्रे । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेलले दशौं राष्ट्रिय पोल्ट्रि दिवस मनाउने क्रममा प्रोटिनको उत्कृष्ट श्रोत मानिएको अण्डा वितरण गरेको छ । विद्यालयका बालबालिका तथा गर्भवति महिलाहरुका लागि प्रोटिनको उत्कृष्ट श्रोत अण्डाको प्रयोग राम्रो मानिन्छ ।

‘बालबालिकाहरुलाई कुपोषणबाट जोगाउन अण्डाको प्रयोग महत्वपूर्ण मानिन्छ’– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेलका प्रमुख राजकुमार हुमागाईले भन्नुभयो–‘बागति प्रदेश सरकारले पोल्ट्रि दिवस मनाउन गरेको परिपत्र अनुसार सिम्बोलिक रुपमा केहि विद्यालयका विद्यार्थी र गर्भवति महिलाहरुका लागि अण्डा वितरण गरिएको हो ।’ सप्ताहब्यापी कार्यक्रम अन्र्तगत विभिन्न क्षेत्रमा अण्डाको प्रयोग तथा उपभोगका बारेमा जानकारी गराउने गरी सरोकारवाला निकायसँग अन्र्तक्रिया गरिएको प्रमुख हुमागाईले जानकारी दिनुभयो ।

चौकोटमा आयोजित कार्यक्रममा पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेलका प्रमुख राजकुमार हुमागाई, पोल्ट्रि मञ्च काभ्रेका सचिव दयाराम महत, स्वास्थ्य चौकी इन्चार्ज विनोद कुईकेल लगायतको सहभागिता रहेको थियो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेलका प्रमुख राजकुमार हुमागाईको अध्यक्षतामा सम्पन्न भेलाले पनौती ५ चौकोटमा रहेको स्वास्थ्य चौकीमा नियमित परिक्षण गराउने गर्भवति महिला, धुलिखेलको बाल मन्दिर र धनेश्वर प्रावीमा अध्ययन गर्ने विद्यार्थीहरुलाई अण्डा वितरण गरेको हो ।

दुई विद्यालयका विद्यार्थीहरु र गर्भवति महिलाहरुलाई अण्डा वितरण पछि प्रोटिनको उत्कृष्ट माध्यम अण्डाको नियमित प्रयोग गर्न अनुरोध गरिएको प्रमुख हुमागाईले जानकारी दिनुभयो । पोल्ट्रि ब्यवसायीहरु तथा जिल्लाको समग्र पोल्ट्रिका विषयमा बृहत्त अन्र्तक्रिया विहिबारका लागि आयोजना गरिएको थियो । सोहि कार्यक्रममा पोल्ट्रि ब्यवसायी लगायतले जिल्लाको समग्र विषयमा कार्यपत्र प्रस्तुत हुनेछ ।

पोल्ट्रि दिवसकै अवसर पारेर बनेपामा पौष १६ गते श्रमिकहरुलाई अण्डा वितरण गर्ने निर्णय भएको छ । जिल्लाको प्रवेशद्धार रोशी गाउँपालिकाको मंगलटारमा सचेतनामुलक कार्यक्रम सहित समापन कार्यक्रम पौष १७ गते आयोजना गरिनेछ । धनेश्वर आधारभुत विद्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष अनिरुद्र थापा लगायत विद्यालयका शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो । अण्डासँगै बालबालिकाहरुलाई खाजा खुवाईएको थियो ।

भारतबाट भित्रने अबैद्य कुखुरा तथा चल्लाहरु नियन्त्रणका लागि थप अभियान संचालन गर्ने गरी सोहि स्थानमा कार्यक्रम आयोजना गरिएको प्रमुख राजकुमार हुमागाईले बताउनु भयो । काभ्रेपलाञ्चोक जिल्ला पोल्ट्रि ब्यवसायका लागि उर्वर क्षेत्र हो । जिल्लाले आफ्नो खपतसँगै निर्यात गरिरहेको छ । उपत्यकाको ठुलो हिस्सा कुखुराको मासु र अण्डा काभ्रेले निर्यात गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्