काठमाडौँ।
नेपालीहरूको महान् चाड बडादसैँअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन आज घरघरमा फूलपाती भित्र्याइएको छ। शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीकका रूपमा फूलपाती भित्र्याएर पूजाकोठा तथा दसैँघरमा नवदुर्गाको पूजा आराधना गरिएको हो।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गा भवानीको आह्वान गरी पूजा गरिँदै आएको दसैँघरमा सप्तमीका दिन विशेष महत्त्वका साथ फूलपाती भित्र्याउने परम्परा छ। फूलपातीमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्षलगायत सामग्री समावेश गरिन्छ।
नवपत्रिकाका नामले समेत चिनिने फूलपातीलाई नौवटी देवीको प्रतीकका रूपमा पूजा गर्ने धार्मिक परम्परा रहेको धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिनुभयो। शास्त्रीय मान्यताअनुसार देवीलाई शक्ति प्रदान गर्न सहायक देवीहरूको भूमिका रहने विश्वास गरिन्छ। फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ। फूलपाती भित्र्याउन छुट्टै साइत आवश्यक नपर्ने समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईले बताउनुभयो।
हनुमानढोकामा परम्परागत विधिअनुसार फूलपाती भित्र्याइयो
यसैबीच, राज्यका तर्फबाट नवदुर्गाको पूजा आराधना गरिने हनुमानढोका दरबारको दसैँघरमा पनि गोरखाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ। गोरखाबाट धादिङको जीवनपुर हुँदै काठमाडौँ ल्याउने र परम्परागत विधिअनुसार हनुमानढोकासम्म पुर्याउने चलन रहिआएको छ।
हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार गोरखाबाट दसैँघरका पुजारीसहित मगर समुदायका छ जनाले फूलपाती धादिङको जीवनपुरसम्म ल्याउने परम्परा छ। त्यसपछि काठमाडौँबाट गएका ब्राह्मण समुदायका छ जनाले जीवनपुरबाट जमलसम्म फूलपाती ल्याउने गर्छन्।
जमलबाट हनुमानढोकासम्म नेपाली सेनाको गुर्जुको पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा, सांस्कृतिक नाचगान तथा विभिन्न समूहको सहभागितामा फूलपाती भित्र्याइएको थियो। यस वर्ष शार्दूलजङ्ग गुल्म, नागार्जुनबाट आएको सशस्त्र प्रहरीको टोली र मङ्गल धुन गाउने मङ्गलिनी समूहसमेत सहभागी भएका थिए।
हनुमानढोका दरबारको नासलचोकमा पूजा तथा मूलचोकमा बलिसहितको पूजा गरेपछि फूलपाती दसैँघरमा भित्र्याइएको हो।
राजतन्त्रका समयमा राज्यप्रमुखका रूपमा राजा फूलपाती भित्र्याउने कार्यक्रममा सहभागी हुने परम्परा थियो। गणतन्त्र स्थापनापछि उक्त कार्यक्रममा कहिले संस्कृतिमन्त्री त कहिले सचिव सहभागी हुँदै आएकोमा यस वर्ष मन्त्री र सचिव उपत्यकाबाहिर रहेकाले मन्त्रालयको संस्कृति महाशाखा प्रमुख सौभाग्य प्रधानाङ्गलगायत अधिकारी सहभागी भएको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ।
नेपाल एकीकरणपछि पृथ्वीनारायण शाहले हनुमानढोका दरबारबाट राजकाज सञ्चालन गर्न थालेसँगै गोरखाबाट फूलपाती ल्याएर दसैँघरमा भित्र्याउने परम्परा सुरु भएको मानिन्छ।
फूलपातीसँगै दसैँको चहलपहल बढ्यो
आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखेसँगै सुरु भएको दसैँको चहलपहल फूलपातीका दिनदेखि थप बढ्ने गरेको छ। सरकारी कार्यालयमा बिदा सुरु भएसँगै विभिन्न पेसा तथा व्यवसायमा संलग्न मानिस परिवारसँग दसैँ मनाउन आफ्नो घर फर्कने क्रम तीव्र भएको छ।
दसैँको रौनकसँगै बजारमा किनमेल गर्नेको भीड पनि बढेको छ। विशेषगरी खाद्यान्न, कपडा, जुत्ता तथा चप्पल पसलमा ग्राहकको चहलपहल देखिएको छ।
ग्रामीण क्षेत्रमा दोबाटो, चौतारो र चौबाटोमा लिङ्गे पिङ तथा रोटेपिङ हाल्ने चलनले पनि दसैँको उल्लास थप्ने गरेको छ। फूलपातीसँगै धार्मिक, सांस्कृतिक र पारिवारिक भेटघाटका गतिविधि बढ्दा दसैँको वातावरण झनै उत्साहपूर्ण बन्न थालेको छ।











प्रतिक्रिया