मिठाईमा प्रयोग सामग्री, म्याद र मूल्य खुलाउन खाद्य विभागको निर्देशन


काठमाडौं।

मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले अब बिक्रीस्थलमा मिठाईको नाम, प्रयोग गरिएका मुख्य सामग्री, तेल वा घिउको प्रकार, उपभोग गर्न सकिने अन्तिम मिति र प्रतिकिलो मूल्य अनिवार्य रूपमा खुलाउनुपर्ने भएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताको स्वास्थ्य सुरक्षा, खाद्य स्वच्छता तथा गुणस्तर सुनिश्चित गर्ने उद्देश्यले यस्तो निर्देशन दिएको हो।
विभागले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार मिठाई तयार गरी बिक्री वितरण गर्ने व्यवसायीले आफूले उत्पादन गरेका मिठाईमा प्रयोग गरिएका कच्चा पदार्थ तथा मुख्य सामग्री, तेल वा घिउको प्रकार, उपभोग गर्न सकिने अन्तिम मिति र प्रतिकिलो मूल्य स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।

मिठाई पसल, होटल तथा मिठाई भण्डारलगायतका व्यवसायले उपभोक्ताले सजिलै देख्न र जानकारी लिन सक्ने गरी बिक्रीस्थलमा उक्त विवरण राख्नुपर्ने विभागले जनाएको छ।

यस व्यवस्थाले उपभोक्तालाई आफूले खरिद गर्न लागेको मिठाईमा प्रयोग गरिएका सामग्री, उपभोग्य अवधि र मूल्यबारे जानकारी प्राप्त गर्न सहज हुने विभागको अपेक्षा छ। साथै, मिठाईको गुणस्तर र मूल्यमा पारदर्शिता कायम गर्न तथा उपभोक्ताको अधिकार संरक्षण गर्न सहयोग पुग्ने विश्वास विभागले लिएको छ।

विभागले जारी गरेको सूचनामा नयाँ व्यवस्था आगामी ११ कात्तिकदेखि लागू हुने उल्लेख छ। तोकिएको मितिपछि पनि निर्देशन पालना नगरे खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम आवश्यक कारबाही हुन सक्ने चेतावनीसमेत दिइएको छ।

त्यसैगरी, विभागले सम्बन्धित कार्यालयबाट आफ्नो व्यवसायको खाद्य स्वच्छताको अवस्थाअनुसार स्तरीकरण गराई ‘खाद्य स्वच्छता लोगो’ लिएर व्यवसाय सञ्चालन गर्न व्यवसायीलाई जानकारी गराएको छ।

विभागको निर्देशनअनुसार मिठाई बिक्रीस्थलमा मिठाईको नाम, मुख्य सामग्री, प्रयोग गरिएको तेल वा घिउको प्रकार, उपभोग गर्न सकिने अन्तिम मिति र प्रतिकिलो मूल्य अनिवार्य रूपमा खुलाउनुपर्नेछ।

यो व्यवस्थाको प्रभावकारी कार्यान्वयनले चाडपर्वलगायतका समयमा बढी खपत हुने मिठाईको सुरक्षित उपभोगलाई प्रोत्साहन गर्नुका साथै उपभोक्तालाई जानकारीका आधारमा गुणस्तरीय खाद्य पदार्थ छनोट गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।