पार्टीले पत्याए पनि जनताले पत्याएनन्

0
Shares

गत मंसिर ४ गतेको चुनावमा धेरै कलाकारहरुले उम्मेदवारी दिएका थिए । पार्टीले टिकट दिएपछि उनीहरु मत माग्न जनताको घरदैलो पुगे । २०७४ सालमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रलोभनमा पारेर कोमल वली मनोनीत सांसद बनिन् । अघिल्लो दिनसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृ बनेर हिँडेकी वलीले भोलिपल्ट एमालेबाट सांसद पाइन् ।

एमालेमा बीसौं वर्ष योगदान गरेका नेताले मनोनीत सांसद पनि पाएनन् । केन्द्रीय सदस्य पाउनबाट पनि उनीहरु वञ्चित भए । तर, पार्टीमा एकदिन पनि नलागेको, पार्टीका लागि कुनै योगदान नदिएको व्यक्ति एकदिनमै मनोनीत सांसदमा चुनिइन् । गत निर्वाचनमा एमालेका अध्यक्ष केपी ओलीले उनलाई दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रत्यक्षमा चुनाव लड्नका लागि टिकट दिएका थिए ।

तर, के गर्नु ? अध्यक्षले पत्याए पनि जनताले पत्याएनन् । दाङ क्षेत्र नम्बर ३ का जनताले रुचाएका व्यक्तिले टिकट पाएनन् । दाङका लागि केही गर्छु भनेर वर्षौंदेखि पार्टीमा लागेका व्यक्तिहरु पनि थिए होलान् । उनीहरुलाई ओलीले टिकट दिएनन् । वलीले अध्यक्ष ओली र महासचिव शंकर पोखरेललाई प्रलोभनमा पारिन्, टिकट पाइन् । अरुले त्यो गर्न सकेनन् । पार्टीले टिकट त दियो तर दाङका जनताले उनलाई नेताको रुपमा स्वीकारेनन् ।

उनी कलाकार हो, कलाकारसँग राजनीति गर्ने क्षमता हुँदैन भनेर जनताले चुनावमा हराइदिए । वलीले गाएका गीतहरु पनि एकदमै उत्ताउलो छन् । समाजमा विकृति फैलाउने खालका गीतहरु उनले गाएकी छिन् । यही गीत सुनेर पनि जनताले भोट दिएनन् । समाज बिगार्न जानेकाले देश सुधार्न जान्दछन् ? बिगार्नेले सुधार्न जान्दैनन् । कलाकारहरु चर्चित हुनका लागि जे पनि गर्छन् ।

उनीहरु गीतमा जस्तो पनि शब्दको प्रयोग गर्छन् । क्षणिकको लोकप्रियताका लागि कलाकारले गाएका यस्ता गीतले समाजमा विकृति फैलाएको छ । तर, उनीहरुले यसबारे ख्याल गरेका हुँदैनन् । जनताले त मूल्यांकन गरेका हुन्छन् । राष्ट्रिय गहना भन्ने, देशविदेश घुम्ने अनि राजनीतिक पार्टीको झोला बोक्ने । यिनीहरुलाई कलाकार भन्न मिल्छ ? सरकारले तक्मा पनि यस्तै समाजमा विकृति फैलाउनेलाई बाँडिरहेको हुन्छ । जसले यिनीहरुलाई प्रोत्साहन गरिरहेका छन् ।

आफ्नो परिवार बसेर हेर्न नसकिने भिडियोहरुमा खेल्ने, ठूलाबडासँग बसेर सुन्नै नसक्ने गीत गाउने । यिनीहरु विगतमा गरेका कार्यहरु बिर्से होलान् तर जनतालाई स्मरण नै छ । गएको चुनावमा नयाँ–नयाँ अनुहार देख्न पाइयो । डाक्टरी पेसाबाट आएकाले चुनाव जिते ।व्यवसायीहरुले पनि माननीय बन्ने मौका पाए । तर, कुनै पनि क्षेत्रबाट कलाकारहरुले जीत हात पार्न सकेनन् । जनताले उनीहरुलाई सांसदको रुपमा हेर्न चाहेनन् । कलाकारलाई जनताले मन पराउँदैनन् भन्ने यहीँबाट प्रस्ट भएको छ । वली रेडियो नेपालको जागिरे हुन् ।

उनी त्यहाँबाट मासिक तलबभत्ता खान्थिन् । तर पनि उनी बाहिर गीत गाउँथिन् । जनताले तिरेको करबाट तलबभत्ता खाएर उनी बाहिरबाहिर गीत गाउँदै हिँड्थिन् । उनको दोहोरो चरित्र जनताले चिनिसकेका थिए । वलीको सपना चुनावको मतपरिणामले चक्नाचुर पारिदिएको छ । उनको सदन छिर्ने ढोका पनि सदैवका लागि बन्द भएको छ । एमालेले नचाँहिदो व्यक्तिलाई टिकट दियो जसले गर्दा पार्टीको यस्तो गति भयो । एमालेका ठुल्ठूला नेताले चुनाव हारेका छन् । धेरै क्षेत्रबाट एमाले पराजित भएको छ । यसको दोषी पार्टीका अध्यक्ष ओली हुन् ।

जस्तो पायो त्यस्तैलाई टिकट दिँदा एमाले सोत्तर भयो । पार्टीमा लामो समयदेखि लागेर जनताको काम गरेका व्यक्तिलाई टिकट नदिने । जसले आफ्नो गुनगान गाउँछ उसलाई दायाँबायाँ नहेरी टिकट दिने । जनताले आफूलाई मन नै नपरेको व्यक्तिलाई कसरी भोट दिने ? यो कारणले एमाले सकिएको छ । ओलीले एमालेलाई निजी कम्पनी जसरी सञ्चालन गर्दा जनताले भोट दिएनन् ।पाँच वर्ष सरकारमा जानबाट एमाले वञ्चित भयो । विपक्षीमा बसेर सरकारको रमिता हेरिरहन्छ । यसको कारण पनि ओली नै हुन् । ठूलो नेतालाई प्रलोभनमा पारेर आफू माथि आउँछु भनेर सोच्नु गलत हो । नेताभन्दा जनता शक्तिशाली छन् भन्ने सबैले ख्याल गर्नुपर्छ ।

कोमल वलीले टिकट पाउँछिन् भनेर कसैले सोचेको थिएन । उनले प्रत्यक्षतर्फबाट टिकट पाइन् ।तर, पनि जनताले उनलाई हराइदिए । जनता पहिलेजस्तो छैनन्, धेरै सचेत भइसकेका छन् । अब वलीलाई नेता भन्ने कि कलाकार ? गम्भीर प्रश्न खडा भएको छ । फेरि पनि कलाकारिता क्षेत्रमा आउन अप्ठ्यारो । हिजो सांसद बनिसकेको व्यक्ति कसरी नाच्ने र गाउने क्षेत्रमा फर्किनु ? यता, नेता बन्नका लागि संसद् छिर्ने ढोका बन्द भयो । अब उनलाई रुनु न हाँस्नु भएको छ ।

पाँच वर्षपछि एमालेले उनलाई टिकट दिँदैन । टिकट पाए पनि जनताले विश्वास गर्दैनन् । कलाकार भएर जनतालाई ढाँट्न निकै सजिलो छ । तर, नेताको ठाउँमा बसेर हेर्नुपर्छ । कलाकार दीपकराज गिरीले ६० वर्ष कटेका नेतालाई भोट नदिऔं भनेर जनतालाई आग्रह गरेका थिए । उनको कुरा कसले सुन्यो ? फेरि पनि उही बूढा नेता चुनाव जितेर आए । कलाकारको कुरा र विचार कसले सुन्छ ?उनीहरुलाई जनताले किन विश्वास गर्ने ? अहिले पनि सांसद छिर्नेमा उही पुराना नेता छन् । जनताको अधिकारमाथि हस्तक्षेप गर्ने अधिकार दीपकराजलाई कसले दियो ? जनताले कहाँ भोट हाल्ने ? कहाँ नहाल्ने ? यो उनले छुट्याउने होइन । जनता आफैं छुट्याउन सक्ने भइसकेका छन् । कलाकारलाई टिकट दिनुहुँदैन भनेर नेताहरुले थाहा पाइसकेका होलान् । नेताहरुका लागि यो शिक्षा पनि भयो ।

कलाकारलाई जनताले पत्याउँदैनन् भन्ने त अहिलेको चुनावबाट स्पष्ट भइसकेको छ । अर्को चुनावमा कलाकारलाई पार्टीले टिकट दिँदैनन् । चुनाव हार्ने डरले उनीहरु चुनावी मैदानमा होमिदैनन् । गीत गाउन र नाच्नजस्तो सजिलो छैन, राजनीति । राजनीति गर्ने व्यक्तिलाई मात्र त्यसको अर्थ थाहा हुन्छ । राजनीति गर्दा उनीहरुले भोगेका संघर्षहरुको कुरा गरिसाध्य छैन ।

हिजोबाट आजसम्म आउन नेताहरुले धेरै सास्ती झेलेका छन् । पत्रकारिता क्षेत्र छोडेर राजनीतिमा होमिएका रवि लामिछाने पनि नागरिकता विवादमा तानिएका छन् । उनी पनि अब कानुनको कठघरामा आउँछ भनेर बहस चलिसकेको छ । २०६६ सालमा काठमाडौंको भद्रकालीमा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग रेखा थापा कम्मर मर्काई मर्काई नाचेकी थिइन् ।

उनले आफूले टिकट पाउँछु र सांसद बन्छु भनेर लामो योजना बुनेकी थिइन् । तर, २०७० सालको चुनावमा माओवादीले उनलाई टिकट दिएन । हरेक अन्तर्वार्तामा अध्यक्ष प्रचण्डको गुनगान गाउने उनी टिकट पाएपछि राप्रपातर्फ लागिन् । राप्रपाले टिकट दियो तर जनताले भोट दिएनन् । कलाकारहरुको यो चुनावमा हरिबिजोग नै भयो । रेखा र कोमल मात्र होइन, उठेका जति सबै कलाकार हारे ।जनताले मन नै नखाएको व्यक्ति राजनीतिमा आउँदा त खोइरो खन्नु स्वाभाविकै हो ।

कलाकारहरु राष्ट्रको गहना होइनन् । यिनीहरुलाई यत्रो भारी शब्दले सम्बोधन गर्न मिल्दैन । आफू कमाउनका लागि फिल्म खेल्छन्, गीत गाउँछन् । तर, यिनीहरुले समाजपट्टि कहिल्यै फर्केर हेरेका छन् ? अघिपछि जनता नचाहिने तर फिल्म हेर्ने बेलाचाहिँ त्यही जनताको खाँचो पर्ने । उनीहरुले खेलेको फिल्म, भिडियो, गाएको गीत सुन्नचाहिँ जनता चाहिने ? उनीहरुलाई जनता चाहिन्छ भनेपछि जनतालाई पनि त आवश्यक परेको थियो होला । हामीले जे गरे पनि हुन्छ भन्ने मनसाय यिनीहरुमा थियो । कलाकारहरुले बल्ल जनता चिन्दै छन् । कलाकारलाई जनताले यो चुनावमा राम्रो पाठ सिकाएका छन् ।
– बिना केसी ।