घोषणापत्र सार्वजनिक गर्न ढिलाइ



काठमाडौं  । 

निर्वाचनको मिति नजिकिँदै जाँदा प्रमुख दलहरूले मतदातासमक्ष चुनावी घोषणापत्र लैजान सकेका छैनन् । निर्वाचन आयोगले मतदानको १७ दिन अघिदेखि मात्रै चुनावी सभा गर्न अनुमति दिएकाले दलहरूले घोषणापत्र सार्वजनिक गर्न ढिलाइ गरेका हुन् ।

सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले भने शनिबार नै संकल्पपत्र सार्वजनिक गरेको छ । अहिलेसम्म कांग्रेस, विवेकशील साझा पार्टी र नेपाल समाजवादी पार्टीले मात्र घोषणापत्र सार्वजनिक गरेका छन् । एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, राप्रपालगायतका दलले भने घोषणापत्र सार्वजनिक गरेका छैनन् ।

माओवादी, एकीकृत समाजवादी र राप्रपाले भने आज सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेका छन् । राप्रपाले ५ कात्तिकमै घोषणापत्र सार्वजनिक गर्ने बताए पनि अहिलेसम्म ल्याउन सकेको छैन । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले आज सोमबार घोषणापत्र सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिनुभयो ।

एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले सोमबार पार्टी अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गर्ने बताउनुभयो । माओवादी केन्द्रले पनि सोमबारकै दिन संकल्पपत्र सार्वजनिक गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्