डा.कार्की निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने



काठमाडौं ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट ललितपुर क्षेत्र नं ३ मा उम्मेदवारी दिएकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गरेको विज्ञप्ती निर्वाचन आयोगले सार्वजनिक गरे लगत्तै डा.कार्कीले आफ्नो फेसबुक स्ट्याटसमा आयोगको निर्णय निष्पक्ष नभएकाले अदालतको ढोका ढक्ढक्याउँने उल्लेख गरेकी छन् ।

निर्वाचन आयोगले उनी नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पदमा बहाल रहेकाले उम्मेदवारी खारेज गरिएको जनाएको छ । उनको उम्मेदवारी खारेजीका लागि आयोगमा उजुरी परेको आयोगले जनाएको छ । आयोगले उजुरीपछि छानविन गर्दा मासिक तलव नबुझेपनि काउन्सिलबाट बैठक भत्ता र अनुगमन गर्दाको भ्रमण भत्ता बुझेको र नेपालको संविधानको धारा ३०६ को उपधारा (१) को ख (६) मा पारिश्रमिक भन्नाले तलव भत्ता र अन्य कुनै किसिमको पारिश्रमिक तथा सुविधा समेत सम्झनुपर्छ भन्ने व्यवस्था समेतका आधारमा भत्ता पारिश्रमिक भित्रै पर्ने देखिएको उल्लेख गरिएको छ । यता डा.कार्की भने निर्वाचन आयोगले आफ्नो उम्मेदवारी खारेजीको निर्णयविरुद्ध अदालत जाने तयारीमा जुटेको उल्लेख गरेकी छन् ।

डा कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य समेत हुन । निर्वाचन आयोगले काउन्सिलको सदस्य पदलाई लाभको पद भनेर व्याख्या गर्दै डा कार्कीको उम्मेदवारी खारेज गरेको जनाएकोछ । डा कार्कीले भने मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नहुने जिकिर गरेकी छन् । उनले सो विषयमा न्याय क्षेत्रमा क्रियाशिल अधिवक्ताहरुसँंग परामर्श गरेको र उम्मेवारी दिनु २५ दिन अघि नै निर्वाचन आयोगसंग सोधेको समेत शनिवार फेसबुक स्ट्याटसमा उल्लेख गरेकी छन् ।

आधिकारिक पत्र नपाए पनि समाचारमा म तोसिमा कार्कीको ललितपुर क्षेत्र नं ३ को उम्मेदवारी खारेजीको बारेमा जानकारी पाएको छु । यसबारे प्रष्ट पार्न यो स्टाटस पोस्ट गर्दैछु । निश्चित तलब नहुने, बैठकमा उपस्थित हुँदा बैठक भत्ता मात्रै पाउने र निर्वाचित सदस्य भएकाले नेपाल मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नहुने धारणा रहेको छ । यद्यपि त्यसमा थप स्पष्ट हुन मैले न्यायक्षेत्रमा क्रियाशिल रहेका अधिवक्ताहरुसँग परामर्श गरेको थिएँ । उनीहरु सबैबाट मासिकरुपमा पारिश्रमिक नआउने कुनै पनि पद लाभको पद नरहने सुझाव पाएँ ।

२०७९–०५–२८ मितिमा (मनोनयनको २५ दिन अगाडी नै) एक सचेत र जिम्मेवार उम्मेदवारको भुमिका निभाउदै निर्वाचन आयोगको कार्यालयमा पत्र लेखेर नेपाल मेडिकल काउन्सिलको सो पद लाभको पद हुने वा नहुने बारेमा स्पष्ट पारिदिन निवेदन समेत दिएको थिएँ (तस्विरमा पढ्नुहोस्) तर निर्वाचन आयोगले सो निवेदनलाई जवाफ दिन आवश्यक पनि मानेन । यसैले कानुनमा जरुरी नभएको तथा ४ हजार जति सदस्यहरुको मतले नीतिनिर्माणमा पुगेकोले ति मतहरुलाई घात नगर्न पनि मैले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजिनामा दिन हुन्न भन्ने मेरो निष्कर्ष रह्यो ।

समय सकिए पछिको उजुरीलाई आधार मानेर आफैले समयमा प्रष्ट नपारेको निवेदनका बारेमा नखुली अहिले आएर सोही बिषयमा निर्णय गर्नुमा निर्वाचन आयोगको निष्पक्ष निर्णय हो भन्नेमा शंका गर्दछु । जसरी उजुरी समय पछि आए पनि निर्णय गरियो, त्यसरी नै मैले उम्मेदवारी दर्ता गर्नु भन्दा निकै पहिले दिएको निवेदनउपर पनि निर्णय गर्नु पर्थ्यो । यहाँनेर पनि निर्वाचन आयोगको निष्पक्षतामा शंका उब्जिन्छ । स्पष्टिकरण दर्ता गर्दा सर्वोच्च अदालतको नजिर पनि समावेश गरिएकोमा सोप्रति कुनै अभिलेखिकरणसम्म नगरि निर्णय गर्नु थप शंकास्पद हुन आउँछ ।ललितपुर ३ मा मेरो पक्षमा एकदमै राम्रो माहौल सिर्जना भइरहेको अवस्थामा निर्वाचन परिणाम फरक पार्ने गरि आएको यो किसिमको निर्णयका विरुद्ध म सम्मानित अदालत जानेछु । सम्पूर्ण मेरा समर्थक तथा शुभचिन्तकज्यूहरुलाई कत्ति पनि विचलित नभई उच्च मनोवलले साथ निरन्तर दिनहुन अनुरोध पनि गर्न चाहन्छु ।

 डा तोसिमा कार्की, ललितपुर ३

निर्वाचन आयोगबाट म उम्मेदवारलाई आधिकारीक पत्र नआएकोले म आफैँ आयोगमा आधिकारिक पत्र बुझ्न आएको बिहान १० बजेदिखि म यहिँ छु पत्र तयार गरिदैछ रे मलाई के भयो कसो भयो भनि धेरै धैरै शुभचिन्तक समर्थक साथै सन्चारकर्मीहरुले सोध खोज गरिरहनुभएको छ मैले सबै फोनहरु उठाउन सकिरहेको छैन्र अझै सम्भवत २ बजेसम्म म यहिँ हुनेछु मलाई खोजिरहनुभएका मिडिया साथीहरुलाई यहिँ आउनहुन अनुरोध छ  ।

प्रतिक्रिया दिनुहोस्