पौडीमा नासिरलाई कीर्तिमानसहित स्वर्ण



काठमाडौं । 

 नेपाली सेनाका नासिर याह्या हुसेनले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत २२औं राष्ट्रिय पौडी च्याम्पियनसिपमा उनलकै नाममा रहेको किर्तिमानमा सुधार गरेका छन् ।

नासिरले १५ सय मिटर फ्रिस्टायलमा काठमाडाैंमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा कायम गरेको १७ मिनट ४९.९५ सेकेन्ड समयमा सुधार गर्दै १६ मिनट ५०.२१ सेकेन्डको नयाँ राष्ट्रिय रेकर्ड कायम गरेका हुन् । यसका साथै उनले नवौं राष्ट्रिय खेलकुदमा पौडी तर्फ पहिलो स्वर्णपदक पनि जितेका छन् ।

दोश्रो स्थानमा रहेको एनआरएनका आशिष सापकोटाले पनि नासिरले दक्षिण एसियाली खेलकुदमा स्थापित गरेको रेकर्डलाई उछिने । सापकोटाले १६ मिनट ५७.९५ को समयमा दूरी पार गरेका थिए । तेश्रो स्थानमा पुलिसका सुनिल कुमार थापा मगरले कांस्य पदक प्राप्त गरे ।

डुवानाको पनि नयाँ किर्तिमान

यस्तै, पोखराको वीरौटास्थित फिसटेल एकेडेमीको पौडी पोखरीमा भएको प्रतियोगितामा सेनाकी डुवाना लामाले पनि नयाँ राष्ट्रिय किर्तिमान बनाउन सफल भइन् । उनले २ सय मिटर व्यक्तिगत मिड्लेतर्फ गौरिका सिंहले नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा कायम गरेको २ मिनट ३२ सेकेन्डको समयलाई पछाडि पार्दै २ मिनेट ३१.४६ सेकेन्डको नयाँ समयको कीर्तिमान कायम गरिन् । यो उनले हिट चरणमा कायम गरेको समय हो ।

एथ्लेटिक्सः

त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला १ सय मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन् । सरस्वतीले लुम्बिनी प्रदेशकी निशा चौधरीले हिट चरणमा राखेकी कीर्तिमानलाई भंग गर्दै स्वर्ण जितेकी हुन् । उनले सो दूरी १२.१३ सेकेन्डमा पूरा गरिन् ।

निशाले हिटमा १२.१५ सेकेन्डमा दूरी पार गर्दै देवी माया पनेरुले सन् १९९९ को दक्षिण एसियाली खेलकुद (साग) मा राखेको कीर्तिमानलाई तोडेकी थिइन् । हिटमा कीर्तिमान बनाएकी निशाले फाइनल चरणमा भने १२.२२ सेकेन्डमा पूरा गर्दै रजतमा चित्त बुझाइन् । आर्मीकी रमिता थारूले १२.९३ सेकेन्डमा दूरी पार गर्दै कांस्य पदक जितिन् ।

यस्तै, नेपाल एपीएफ क्लबका शिवराज पार्कीले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष १ सय मिटर दौडमा स्वर्ण जितेका छन् । पोखरा रंगशालास्थित एथलेटिक्स ट्याकमा शनिबार भएको दौडमा शिवराजले त्रिभुवन आर्मी क्लबका युवराज विकलाई २ मिलिसेकेण्डले पछि पार्दै स्वर्ण हात पारे । उनले उक्त दूरी १०.५६ सेकेन्डमा पूरा गर्र्दा युवराजले १०.५८ सेकेन्ड समय लगाएका थिए । आर्मीका डिल्ली भण्डारी १०.७० सेकेन्डसहित कांस्य जिते ।

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सतर्फको सटपुटमा पुलिसकी चन्द्रकला लामगादे र आर्मीका तिलक विकले स्वर्ण जितेका छन् । पोखरा रंगशालास्थित एथलेटिक्स ट्याकमा शनिबार भएको महिलातर्फ चन्द्रकलाले १२.४० मिटर दूरी फ्याँक्दै स्वर्ण जितिन् । लुम्बिनी प्रदेशकी संगीता अधिकारीले १०.८३ मिटर दूरी फालेर रजत जितिन् । पुलिसकी वसन्ती चौधरीले ९.८६ मिटर दूरी फाल्दै कांस्य जितिन् ।

पुरुषतर्फ आर्मीका तिलक विकले १२.८५ मिटर दूरी फ्यालेर स्वर्र्ण जिते । आर्मीकै चित्रबहादुर वलीले १२.६४ मिटर दूरी फ्याल्दै रजत तथा बागमती प्रदेशका ललित रावतले ११.९५ मिटर दूरी फ्याँक्दै कांस्य जिते ।

सन्तोषीलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला १० हजार मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण जितेकी छिन् । खुट्टाको चोट बिर्सेर सन्तोषीले आफ्नी प्रतिद्वन्द्वी पुलिसकी राजपुरा पछाईलाई पछि पार्दै स्वर्ण जित्न सफल भइन् ।
अन्तिम ल्यापमा राजपुरालाई पछि पारेकी सन्तोषीले ३६ मिनेट १२ः३६ सेकेन्डमा दौड पूरा गरिन् । राजपुराले ३६ मिनेट २९.४५ सेकेन्डमा दौड पूरा गर्दै रजतमै चित्त बुझाइन् । एपीएफकी पुष्पा भण्डारीले ३७ मिनेट ४.२ सेकेन्डमा दौड पूरा गर्दै कांस्य जितिन् ।

जितपछि आफूले घाइते खुट्टाले प्रतिस्पर्धा गरेको भन्दै राष्ट्रिय रेकर्ड बनाउन नसकेकोमा माफी मागिन् । सन्तोषी दक्षिण एसियाली खेलकुदमा नेपालका लागि स्वर्ण जित्ने कीर्तिमानी खेलाडी हुन् । उनले १३औं सागमा नेपालका लागि १० हजार मिटरमा भारतीय प्रतिद्वन्द्वीलाई पछि पारेर स्वर्ण जितेकी थिइन् ।

साइक्लिङमा आर्मीलाई दुई स्वर्ण

गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज (शनिबार) पोखरामा भएको साइक्लिङको डाउनहिल विधामा पुरुष र महिलात दुवैतर्फ नेपाल आर्मीका खेलाडी विजेता बनेका छन् । पुरुषतर्फ नेपाल आर्मीका राजेश मगरले १४ सय मिटरको दूरी रहेको डाउनहिल १ मिनेट ४९.१० सेकेन्डमा पूरा गर्दै बिजेता बन्दै स्वर्ण पदक जितेका छन् । त्यस्तै, बागमती प्रदेशका निरभ श्रेष्ठले १ मिनेट ५२.१० सेकेन्डमा दूरी पूरा गर्दै रजत र एपीएफका प्रचित थापा मगरले १ मिनेट ५५.६९ सेकेन्डमा उक्त दूरी पूरा गरी कांस्यपदक जित्न सफल भएका छन् ।

यता महिलातर्फ पनि सोही दूरी नेपाल आर्मीकी निस्मा श्रेष्ठले २ मिनेट २३.५८ सेकेण्डमा पूरा गर्दै स्वर्णपदक जितेकी छिन् । रजतपदक पनि नेपाल आर्मीकै उसा खनालले जित्न सफल भइन् । खनालले २ मिनेट ३७.४५ सेकेन्डमा दूरी पूरा गरेकी थिइन् । त्यस्तै, २ मिनेट ४०.०९ सेकेण्डमा दुरी पुरा गर्दै गण्डकी प्रदेशकी जमुना थापाले कांस्यपदक जित्न सफल भइन् । आज (शनिबार) भएको साइक्लिङको डाउनहिल विधामा नेपाल आर्मीले २ स्वर्ण, बागमती प्रदेश र नेपाल आर्मीले १-१ रजत, त्यस्तै गण्डकी प्रदेश र एफीएफले १-१ कांस्यपदक जित्न सफल भए ।

सात प्रदेश र तीन विभागीय गरी १० क्षेत्रबाट प्रतिस्प्रधा रहने साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री, रोड रेस इन्डीभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट विधा रहेको छ । भोली (आइतबार) पोखराको ड्यामसाइडनजिक रानीवनको ट्रयाकमा क्रस कन्ट्री विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्