रोनाल्डोको सात सयौं गोलमा युनाइटेडको जित



लन्डन, (एजेन्सी) । 

पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले यस सिजन प्रिमियर लिगमा पहिलो तथा क्लब करिअरमा कीर्तिमानी ७ सय गोल पूरा गरेको खेलमा म्यानचेस्टर युनाइटेडले जितको नतिजा निकालेको छ । युनाइटेडले एभर्टनमाथि २–१ गेलअन्तरको पुनरागमन जित निकाल्दा रोनाल्डोले पनि आफ्नो क्लब करियरको सात सय गोल पूरा गरेका हुन् । युनाइटेडका लागि थप एक गोल भने एन्टोनीको नाममा रह्यो । त्यस्तै, एभर्टनका एलेक्स इओवीले गरेको एक गोल भने सान्त्वना बन्यो ।

गुडिसन पार्क लिभरपुलमा आइतबार राति भएको खेलको पाँँचौं मिनेटमा इओवीको गोलबाट युनाइटेड खेलमा १–० ले पछि परेको थियो । १५औं मिनेटमा एन्टोनीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । उनले एन्थोनी मार्सियालको पासमा गोल गर्न सफल भएका थिए । खेलको ४४औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा २–१ ले अघि बढाए । यो सिजन प्रिमियर लिगमा पहिलो रोजाइमा विरलै अवसर पाएका ३७ वर्षे रोनाल्डोले सातौ खेलमा आएर क्यासमिरोको पासमा गोल गर्न सफल भएका हुन् ।

यससँगै उनले व्यवसायिक खेल करिअरमा सात सय गोलको आँकडा पूरा गरेका छन् । उनले ९ सय ४५ खेलमा सात सय गोलको आँकडा पूरा गरेका हुन् । गत सिजन युनाइटेड फर्किएका रोनाल्डोले यस सिजनसहित ४८ खेलमा २६ गोल गरेका छन् । खेलको ८१औं मिनेटमा मार्कुस रासफोर्डले गोल गरे पनि उक्त गोलको मुभमा फाउल भएपछि गोलले मान्यता पाएन । त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेड विजयी हुन सफल भयो । यस जितसँगै युनाइटेड आठ खेलबाट १५ अंक जोडेरको छ । पराजित एभर्टनको १० अंक रहेको छ ।

इंग्लिस प्रिमियर लिग अन्तर्गतकै अर्को खेलमा लन्डन क्लब आर्सेनलले पनि लिभरपुललाई पराजित ग¥यो । आर्सेनलले घरेलु मैदानमा लिभरपुललाई ३–२ ले पराजित गरेको हो । इमिरेट्स स्टेडियम लन्डनमा आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा बुकायो साकाले दुई तथा गाव्रियल मार्टिनेलीले एक गोल गरे । लिभरपुलका डार्विन नुनेज र रोबर्टाे फिर्मिनोले गोल गरे पनि हार टार्न सकेन ।

खेलको पहिलो मिनेटमा नै मार्टिन ओडेगार्डको पासमा गाव्रियल मार्टिनेलीले गोल गर्दै आर्सेनललाई १–० को अग्रता दिलाएका थिए । ३४औं मिनेटमा डार्विन नुनेजले लुइस डियाजको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सेनललाई पहिलो हाफमा २–१ ले अघि बढाए । उनले मार्टिनेलीको पासमा गोल गर्न सफल भएका थिए ।
तर, खेलको ५३औं मिनेटमा परिवर्तित खेलाडी रोबर्टाे फिर्मिनोले गोल गर्दै लिभरपुललाई २–२ गोलको बराबरीमा ल्याउन सफल भए । चोट बोकेर खेल्न नसक्ने भएपछि ४२औं मिनेटमा लुइस डियाजको स्थानमा मैदान छिरेका फिर्मिनोले डिएगो जोटाको पासलाई सदुपयोग गरेका थिए । त्यसपछि, ७६औं मिनेटमा बुकायो साकाले पेनाल्टीमा गोल गर्दै आर्सेनललाई महत्वपूर्ण जितसहित तीन अंक दिलाए ।

गाब्रियल जेससलाई जोटाले फाउल गरेपछि रेफ्रीले आर्सेनललाई पेनाल्टी प्रदान गर्दा साका चुकेनन् । यो सिजन कमजोर प्रदर्शन गरिरहेको लिभरपुल त्यसपछि खेलमा फर्कन नसक्दा आर्सेनलल विजयी हुन सफल भयो । यस जितसँगै आर्सेनलको नौ खेलबाट २४ अंक पुगेको छ । पराजित लिभरपुलको आठ खेलबाट १० अंक रहेको छ । आइतबारै भएका अन्य खेलमा क्रिस्टल प्यालेसले लिड्सलाई २–१ ले र वेस्ट ह्यामले पनि फुलह्यामलाई ३–१ ले पराजित गर्दै तीन अंक बटुले ।

रोनाल्डोको ७ सयौँ क्लब गोल

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले आइतबार राति म्यानचेस्टर युनाइटेडलाई जित दिलाउने क्रममा क्लब करिअरको समत सयौं गोल पूरा गरे । सन् २००२ मा पोर्चुगलको स्पोर्टिङ लिस्बनबाट डेब्यु गरेका उनी दोस्रोपटक म्यानचेस्टर युनाइटेडबाट खेलिरहेका छन् । रोनाल्डोले प्रिमियर लिगको यस सिजनमा पहिलो गोल गरेका हुन् । यसअघि, उनले युरोपा लिगमा भने पेनाल्टीमार्फत गोल गरेका थिए । रोनाल्डोले क्लब फुटबलको ९ सय ४३औं खेलमा ७ सयौं गोल गर्न सफल भएका हुन् । उनले यस क्रममा १ सय ९९ असिस्ट पनि प्रदान गरेका छन् । त्यस्तै, उनले यसक्रममा ५० ह्याट्रिक प्रहार गरेका छन् ।

रोनाल्डोको ७ सय गोलमा १ सय २९ गोल पेनाल्टीमा आएको छ । रोनाल्डोले क्लब करिअरमा ४८ फ्रिकिक गोल गरेका छन् भने उनले ओपन प्लेमा ५० गोल पेनाल्टी क्षेत्रभन्दा बाहिरबाट प्रहार गरेका छन् । उनले पेनाल्टी क्षेत्र भित्रबाट भने चार सय ७३ गोल गरेका छन् । रोनाल्डोले सन् २००२ सेप्टेम्बर २९ मा स्पोर्टिङ लिस्बनका लागि ब्रागाविरुद्ध खेल्दै डेब्यु गरेका थिए । उनले ७ अक्टोबर २००२ मा मोरेइरेन्सविरुद्ध गोल गर्दै क्लब फुटबलमा खाता खोलेका थिए । रोनाल्डोले लिस्बनका लागि ३१ खेलमा ५ गोल गरेका थिए । म्यानचेस्टर युनाइटेडका लागि उनले सन् २००३ देखि २००९ सम्म २ सय ९२ खेलमा एक सय १८ गोल गरे ।

रियल मेड्रिड उनको करिअरको सर्वाधिक सफल क्लबको रूपमा रह्यो । उनले सन् २००९ देखि २०१८ सम्म चार सय ३८ म्याच खेल्दै चार सय ५० गोल गरे । युभेन्ट्समा तीन सिजन बिताएका उनले एक सय एक गोल गरे । म्यानचेस्टर युनाइटेडका लागि गत सिजन ३८ खेलमा २४ गोल गरेका उनले यस सिजन भने दुई गोल मात्र गरेका छन् । रोनाल्डोले स्पोर्टिङ सिपीबाट ३१ खेलमा ५ गोल, म्यानचेस्टर युनाइटेडबाट दुई सय ९२ खेलमा एक सय १८ गोल, रियल मेड्रिडबाट चार सय ३८ खेलमा चार सय ५० गोल र युभेन्ट्सबाट एक सय ३४ खेलमा एक सय एक गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्