किपचोगेले आफ्नै कीर्तिमान तोडे



बर्लिन, (एजेन्सी)  । 

ओलम्पिकमा दुईपटक विजेता बनेका तथा इलिउड किपचोगेले उनकै म्याराथन विश्व कीर्तिमान तोडेका छन् ।बर्लिनमा आइतबार भएको पुरुष म्याराथनको दूरी केन्याका धावक किपचोगेले २ घण्टा १ मिनेट र ९ सेकेन्डमा पूरा गरेका हुन् । उनले अघिल्लो उनको कीर्तिमानलाई ३० सेकेन्डले छायाँमा पारे । उनले चार वर्षअघि जर्मनको राजधानी सहरमा उक्त कीर्तिमान राखेका थिए ।

यो किपचोगेको बर्लिनमा चौथो जित पनि हो । उनले इथियोपियाका महान् धावक हाइले गेबरसेलासिसको कीर्तिमान पनि बराबर गरेका छन् । उक्त दौडमा केन्याकै मार्क कोरिर दोस्रो भए । उनी किपचोगेभन्दा ४ मिनेट ४९ सेकेन्डले पछि परेका थिए । महिला म्याराथनको उपाधि भने इथियोपियाकी टिगिस्ट असेफाले जितिन् । उनले २ घण्टा १५ मिनेट ३७ सेकेन्डको समय लिएकी हुन् ।

कीर्तिमान तोडेको खुसीमा किपचोगेले बताए—मेरो तयारीसँग म खुसी छु र मलाई लाग्यो, म टिमवर्कको कारण ज्यादै छरितो भएँ । म युवाहरूलाई प्रेरित गर्न चाहन्छु । खेलकुदले मान्छेलाई एकताबद्ध बनाउँछ र त्यसैबाट मलाई उत्प्रेरित गर्छ ।
३७ वर्षीया किपचोगेले करियरमा १७ वटा म्याराथनमा भाग लिएका छन् । यसमध्ये उनी १५ वटामा विजेता बनिसकेका छन् । सन् २०१९ मा भिएनामा भएको म्याराथनमा २ घण्टाभन्दा कम समयमा दौडेका थिए । तर, यो आधिकारिकरूपमा दर्ता भएन किनभने यो खुला प्रतियोगिता थिएन ।

प्रतिक्रिया दिनुहोस्