होन्डुरसविरुद्ध अर्जेन्टिनाको जित



लन्डन, (एजेन्सी) । 

कप्तान लियोनेल मेसीले दुई तथा लोउटारो मार्टिनेजले एक गोल गरेपछि अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा होन्डुरसविरुद्ध सहज जित निकालेको छ ।

अर्जेन्टिनाले होन्डुरसमाथि ३–० गोलअन्तरको सहज जित निकालेको हो । हार्ड रक स्टेडियम मियामी गार्डेन्स फ्लोरिडामा शनिबार बिहान भएको खेलको १६औं मिनेटमा मार्टिनेजको गोलबाट अर्जेन्टिनाले अग्रता लिन सफल भएको थियो । मेसी हँुदै एलेसान्द्रो गोमेजले मिलाइदिएको पासलाई मार्टिनेजले जाली चुमाएका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मेसीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे ।

राहुल सान्तोषले जियोभानी लो सेल्सोलाई पेनाल्टी बक्समा फाउल गरेपछि रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी प्रदान गर्दा मेसी चुकेनन् ।खेलको ६९औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे । इन्जो फर्नान्डेसको पासमा मेस्सीले झन्डै २५ यार्डबाट गरेको प्रहारले जाली चुमेको थियो । अर्जेन्टिनाले आगामी नोभेम्बर डिसेम्बरमा कतारमा हुने फिफा विश्वकप कतार २०२२ को अन्तिम तयारीस्वरूप मैत्रीपूर्ण म्याच खेलेको हो । अब अर्जेन्टिनाले अन्तिम मैत्रीपूर्ण खेलमा जमैकासँग बुधबार बिहान खेल्नेछ ।

त्यसैगरी, अर्को मैत्रीपूर्ण खेलमा फरवार्ड नेयमारले दुई असिस्ट तथा रिचार्लीसनले दुई गोल गरेपछि कतार विश्वकपअघिको खेलमा ब्राजिलले घानामाथि ३–० गोलअन्तरको सानदार जित निकाल्यो । फ्रान्सको ले हाभ्रेमा भएको खेलमा ब्राजिलले पहिलो हाफको ३९ मिनेटभित्रै ३–० को आरामदायी अग्रता लिइसकेको थियो । त्यही तीन गोल नै ब्राजिलको जितमा पर्याप्त बन्यो ।

खेलको सुरुवातदेखि नै बल पोसेसन राख्दै खेलमा पकड बनाएको ब्राजिलले नवौं मिनेटमा मार्किन्हसको गोलबाट अग्रता लिएको थियो । उनले राफिन्हाको पासमा गोल गर्न सफल भएका थिए । २८औं मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । उनले नेयमारको पासमा गोल गर्न सफल भए । ३९औं मिनेटमा नेयमारकै पासमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई ३–० ले अघि बढाए ।

दोस्रो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि थप गोल निस्कन नसक्दा ब्राजिल सहज जित निकाल्न सफल भयो । यस नतिजासँगै ब्राजिल कोपा अमेरिका कपमा अर्जेन्टिनासँग १–० ले पराजित भएयता १४ खेलसम्म अपराजित रहेको छ । जसमा ११ जित र ३ बराबरीको नतिजा छ । अब ब्राजिलले कतार विश्वकप २०२२ अघिको अन्तिम मैत्रीपूर्ण खेलमा ट्युनिसियासँग बुधबार प्रतिस्पर्धा गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्