लियोनार्दाेले हार टारे



लन्डन, (एजेन्सी)  ।

युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा हारलाई टारेको छ । इन्ज्युरी समयमा लियोनार्दाे बोनुचीले गोल गरेपछि युभेन्ट्स हारबाट जोगिएको हो ।

दुई गोलले पछि रहेको युभेन्ट्सले सालेरनिटानासँग २–२ गोलको बराबरी खेलेको हो । एलिएन्ज एरिना टोरिनोमा आइतबार राति भएको खेलमा सालेरनिटानाका एन्टोनियो क्यानड्रेभा र क्रिस्टोफ पियाटिकले गोल गर्दा युभेन्ट्सका ग्लेइसन ब्रेमेर र बोनुचीले बराबरी गोल फर्काएका थिए ।

खेलको १८औं मिनेटमा एन्टोनियो क्यानड्रेभाले गोल गर्दै सालेरनिटानालाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पाँचांै मिनेटमा क्रिस्टोफ पियाटिकले गोल गर्दै सालेरनिटानाको अग्रता दोब्बर पारे । खेलको ५१औं मिनेटमा ग्लेइसन ब्रेमेरले गोल गर्दै युभेन्ट्सलाई खेलमा फर्काउने संकेत दिए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा युभेन्ट्सले पेनाल्टी पाए पनि बोनुचीले गोल गर्न सकेनन् ।

तर, रिवाउन्डमा गोल गर्दै युभेन्ट्सलाई हारबाट जोगाए । इन्ज्युरी समयको पाँचौं मिनेटमा एर्काडिअस्ज मिलिकले गोल गरे पनि भीएआरबाट मान्यता नपाउँदा युभेन्ट्स जितबाट वञ्चित बन्यो । खेलको अन्त्यतिर रातो कार्डको वर्षा हुँदा युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलेग्रीसहित दुई खेलाडीले तथा सालेरनिटाना १० खेलाडीमा समेटिएको थियो । युभेन्ट्सका एर्काडिअस्ज मिलिक र जुआन कोर्डाडो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । सालेरनिटानाका फेडरिको फाजियोले सिधै रातो कार्ड पाए । यो बराबरीसँगै युभेन्ट्सले ६ खेलबाट १० अंक जोडेको छ । सालेरनिटानाको भने ७ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्