नेपालको सामना भारतसँग



काठमाडौं ।

जारी महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा घरेलु टोली नेपालको सामना भारतसँग हुने भएको छ । मंगलबार डिफेन्डिङ च्याम्पियन भारत पराजित भएपछि नेपालले भारत प्रतिद्वन्द्वी पाएको हो ।

समूह ‘ए’ अन्तर्गतको खेलमा बंगलादेशले भारतलाई ३–० गोलअन्तरले हराएको हो । योसँगै बंगलादेश समूह विजेता टोली बन्यो भने भारत समूह उपविजेता टोली बनेको हो ।उता समूह ‘बी’ मा नेपाल समूह विजेता टोली बनेको छ । भुटान समूह उपविजेता टोली बनेको हो । यस आधारमा अन्तिम चारको खेलमा नेपालले भारतको सामना गर्नेछ भने बंगलादेशले भुटानविरुद्ध खेल्नेछ ।

भारतको भने यो साफ इतिहासमा पहिलो हारसमेत हो । यसअघि, पाँचौं संस्करणसम्म भारतलाई कुनै टोलीले पनि हराउन सकेको छैन । यसपटक भने भारतलाई बंगलादेशले नराम्रोसँग हराएको छ ।भारतले साफ च्याम्पियनसिपमा यो खेल खेल्नअघि २५ खेल खेल्दा भारतले २४ मा जित र १ बराबरीको नतिजा निकालेको थियो । सन् २०१६ मा पनि बंगलादेशले समूह चरणको अन्तिम खेलमा भारतलाई गोलरहित बराबरीमा रोकेको थियो । उक्त बराबरीकै कारण नेपाल र भारत सेमिफाइनलमा भिडेका थिए ।

पाकिस्तानको पहिलो जित

आठ वर्षपछि फुटबलमा फर्केको पाकिस्तानी टोलीले साफ च्याम्पियनसिपमा पहिलो जित हासिल गरेको छ । मंगलबार भएको खेलमा पाकिस्तानले माल्दिभ्सलाई ७–० गोलअन्तरले हराएको थियो । टोलीको जितमा नाडिया खान एक्लैले चार गोल गरेकी थिइन् । यो जितसँगै पाकिस्तानले ३ अंक जोडेर प्रतियोगिताको सुखद अन्त्य पनि ग¥यो । तीन खेल खेलेको माल्दिभ्सले जितविहीन हुँदै प्रतियोगितामा १९ गोल आत्मसात् गरेको छ ।

प्रतिक्रिया दिनुहोस्