शिरिष फाउन्डेसन र बक्सर सुष्माबीच सम्झौता



काठमाडौं । 

पौडी खेलाडी शिरिष गुरुङ्गको नाममा स्थापना गरिएको शिरिष फाउन्डेसनले बक्सिङ्ग खेलाडी सुष्मा तामाङ्गलाई सहयोग गर्ने सम्वन्धमा आइतबार एक कार्यक्रमबीच सम्झौता गरेको छ । सम्झौता पत्रमा फाउन्डेसनका तर्फबाट कोषाध्यक्ष एवं शिरिषका माता सपना गुरुङ्ग र खेलाडी सुष्माले हस्ताक्षर गर्नुका साथै सम्झौता पत्र आदान–प्रदान गरे ।

सम्झौता पत्रअनुसार फाउन्डेसनले सुष्मालाई प्रतियोगितामा सहभागी हुँदा आवश्यक खेलपोशाक उपलब्ध गराउने, उक्त पोसाकमा फाउन्डेसनले तेश्रो पक्षको लोगो भएको पोसाकसमेत उपलब्ध गराउन सक्ने, प्रशिक्षण तथा प्रतियोगिताको दौरान घाईते भएको अवश्थामा अन्य तेश्रो पक्ष वा अस्पतालसँग सम्झौता गरि उपचारको व्यवस्था गर्ने, हौशलाका लागि मासिक १५ हजार उपलब्ध गराउने, अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा आवश्यक खेल सामाग्री उपलब्ध गराउने, प्रतियोगितामा सहभागी हुँदा निर्दिष्ट पोसाक मात्र (राष्ट्रिय खेलकुद र अन्तर्राष्ट्रिय प्रतियोगितामा बाहेक) प्रयोग गर्ने, उत्कृष्ट खेल प्रदर्शन गरेमा विशेष पुरस्कारको व्यवस्था गर्ने, खेलकुदको मर्यादा तथा अनुशासनको पालना गर्ने र विपरीतको कार्य गरेमा सम्झौता भंग हुने व्यहोरा रहेको छ ।

यस्तै सम्झौता हाललाई १ वर्षका लागि कायम रहने र उत्कृष्ट खेल प्रदर्शन गरेको खण्डमा दुवै पक्षको सहमतिमा करार अवधि थप गर्न सकिने जनाइएको छ ।कार्यक्रममा बोल्दै सुष्माले खेलाडी शिरिषले आफू जस्तै, उदियमान खेलाडीहरूलाई हौसला तथा प्रेरणा प्रदान गर्ने उद्देश्यले जुन कार्य गरेका छन् त्यसले खेलाडीहरूको मनोबल बढ्नुका साथै खेलको स्तर वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै फाउण्डेशनलाई धन्यवाद प्रदान गरिन् । यसअघि, फाउन्डेसनले उसुकी साग स्वर्ण पदकधारी निमा तामाङसँग सम्झौता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्