मध्यपुर थिमी न.पा. ७ टिम च्याम्पियन



भक्तपुर । 

मध्यपुर थिमी न.पा. ७ भक्तपुर जिल्लाव्यापी अन्तर वडा ब्याडमिन्टन प्रतियोगिताको टिम च्याम्पियन बन्न सफल भएको छ । ब्याडमिन्टन इतिहासमा नै नौलो प्रस्तुति जिल्लाव्यापी वडा प्रतियोगितामा थिमी ७ ले एक स्वर्ण दुई रजत पदकका साथ टिम च्याम्पियन बन्न सफल भएको हो ।

यस्तै, दोश्रो स्थानमा रहेको मध्यपुर थिमी ८ एक स्वण र एक कांस्यपदक प्राप्त गर्न सफल भयो । बराबर एक स्वर्ण प्राप्त गरेका सूर्यविनायक नगरपालिका ८ र मध्यपुर थिमी न.पा. ४ संयुक्त तेश्रो स्थानमा रहे ।अन्तर्राष्ट्रिय ब्याडमिन्टन विकास केन्द्रको आयोजना तथा भक्तपुर जिल्ला ब्याडमिन्टन संघको तत्वावधानमा भएको प्रतियोगितामा पुरुष तर्फ सूर्यविनायक नगरपालिकाका आयुष प्रजापती र महिलातर्फ मध्यपुर थिमी ४ की कृषा श्रेष्ठले उपाधी उचाले । आयुषले सूर्यविनायक ३ का रमेश बस्नेतलाई २१–१३, १८–२१, २१–१६ ले पराजित गरे भने कृषाले मध्यपुर थिमी ७ की शर्मिला के.सी.लाई २१–१८, १७–२१, २१–१२ ले पराजित गरिन् ।

पुरुष युगलतर्फ मध्यपुर ७ का भिम राज कार्की र साजन न्यौपानेको जोडीले उपाधी उचाले । उक्त जोडीले थिमी ७ कै अशोक अधिकारी र महेश कार्कीलाई २१–११, २१–१० ले पराजित गर्दै उपाधि कब्जा गरेका हुन् ।पुरुष युगल ४५ वर्ष माथिको प्रतिस्पर्धामा थिमी ८ का पूर्णहरि होना र प्रेम भक्त ज्यानाको जोडीले बाजी मारे । उक्त जोडीले थिमी ३ का भीम गिरी र देन लामाको जोडीलाई २१–१६, २१–१९ ले पराजित गरेका हुन् ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई समाज सेवी एवं करातेका खेलाडी अष्ट कोवे, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, भक्तपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष राजेन्द्र प्रजापती लगायतले पुरस्कार वितरण गरेका थिए । १२ लाखको लागत रहेको प्रतियोगिताको विजयी शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरूले ट्रफी, मेडल र प्रमाण पत्रका साथ नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गरे । २०० बढी खेलाडीको सहभागिता रहेको प्रतियोगिता दुवाकोट सिटी ब्याडमिन्टन सोसाइटी ब्याडमिन्टन हलमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्