राजर्षि गुरुकुलमा पौडी प्रतियोगिता



भक्तपुर । 

भक्तपुरको सल्लाघारीस्थित राजर्षि गुरुकुल स्कूलका विद्यार्थीहरू पौडीमा रमाएका छन् । स्कूलले आयोजना गरेको पौडी प्रतियोगितामा सहभागी विद्यार्थीका साथै विद्यालयमा अध्ययनरत विद्यार्थी पनि पौडीमा रमाएका हुन् ।

शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल सो स्कुलले अन्तर सदनव्यापी गरेको स्विमिङ प्रतियोगितामा सहभागी विद्यार्थीहरूले पौडीले आफूहरूमा छुट्टै खालको स्फूर्ति दिएको बताए । प्रतियोगितामा सहभागी आरोही निरौलाले पौडीमा आफ्नो रुचि भएको बताउँदै सो रुचिलाई स्कुलले पूरा गरेको बताइन् । उनले मात्र नभएर कक्षा ४ का अदिसी सराफ, कक्षा ५ की विधात्री घिमिरेले पनि पौडन पाउँदाको खुसी बेग्लै रहेको अनूभूति सुनाए ।

उनीहरूले स्कुल बिदामा अन्य ठाउँमा गएर पौडीको अभ्यास गर्ने गरेको बताउँदै विद्यालयकै पोखरीमा पौडिएर आफ्नो सीप देखाउन पाउँदा खुसी लागेको बताएका थिए ।

जीवन रक्षाका लागि समेत आवश्यक सीपमध्येमा पर्ने पौडीको सीप सिकाउन पनि सो प्रतियोगिता गरिएको विद्यालयका प्रिन्सिपल लियोन श्रेष्ठले बताए । उनले पौडीप्रति विद्यार्थीको रुचि बढाउन तथा पौडीका कारण विद्यार्थीमा पुग्ने फाइदाको अनुभूति सिकाउनसमेत सो प्रतियोगिता गरिएको जानकारी दिए ।

विद्यार्थीको मानसिक र शारीरिक क्षमता विकासमा सहयोग पुर्याउने उद्देश्यले सो प्रतियोगिता गरेको स्कुलले जनाएको छ ।स्पर्धामा विजयी विद्यार्थीलाई राष्ट्रिय खेलकुद परिषद्का प्रमुख पौडी प्रशिक्षक शंकर कार्की, विद्यालयका संस्थापक राजेश चौधरी र विद्यालयका प्रिन्सिपल लियोन श्रेष्ठले मेडल, प्रमाण पत्र र ट्रफी वितरण गरेका थिए ।

कार्यक्तममा पौडीका मुख्य प्रशिक्षक शंकर कार्की, अर्थशास्त्री जय बञ्जाडे, विद्यालयका सल्लाहकार बिकेमान सिंहलगायतका अतिथिहरूले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि राजर्षि गुरुकुलले गरेको प्रयासको प्रशंसा गरेका थिए ।

वक्ताहरूले स्कुलले शिक्षाका साथै खेलकुद र अतिरिक्त क्रियाकलापलाई पनि पहिलो प्राथमिकता दिँदै आएको उल्लेख गर्दै भोलिका कर्णाधारका रूपमा रहेका विद्यार्थीको भविष्यका लागि खेलकुद जरुरी रहेकोमा जोड दिए । उनीहरूले पढाइसँगै खेलकुद जरुरी रहेकाले विद्यालय तहबाटै खेलकुदमा लगानी गर्नुपर्ने चर्चा गरे ।

प्रतिक्रिया दिनुहोस्