चेस छनोट जारी



काभ्रे  ।

बागमती प्रदेश बुद्धिचाल छनोट प्रतियोगिताको बुधबार दोस्रो दिन पाँचौ चरणको खेल सम्पन्न हुँदा ललितपुरका रत्न ब्यञ्जन्कार र अशोक मोहन श्रेष्ठ खुल्लातर्फ साढे ४ अंक सहित खुला तर्फ संयुक्तरूपमा शीर्ष स्थानमा रहेका छन् । उत्कृष्ट लयमा रहेका रत्नले चौथो चरणको खेलमा दोलखाका राजीव कार्कीलाई पराजित गरेका थिए भने पाँचौं चरणको खेलमा अशोक मोहनसँग बराबरी गरे । त्यस्तै, राम्रो खेल प्रदर्शन गरिरहेका अशोकले चौथो चरणको खेलमा चितवनका अर्जुन घिमिरे माथि कठिन खेलमा जित हात पारेका थिए ।

बागमती खेलकुद परिषद्को आयोजनामा र बागमती प्रदेश बुद्धिचाल संघका अध्यक्ष ज्ञानकृष्ण प्रजापतिलेको संयोजनमा भइरहेको प्रतियोगितामा भक्तपुरका निकेन कुसाथ, दोलखाका राजिव कार्की र अर्जुन घिमिरे ३ अंक सहित उनीहरूलाई पछ्याइरहेका छन् । धुलिखेलस्थित सनराइज रिसोर्टमा जारी प्रतियोगितामा खुल्ला र महिलातर्फ तीन–तीन जना छनोटखेलाडी छनोट हुन् छन् ।

महिलातर्फ भक्तपुरकी सबिना श्रेष्ठ, चितवनकी लक्ष्मी कँडेल र नुवाकोटकी मार्सल तामाङ ४ अंकसहित अग्रस्थानमा रहेका छन् । चौथो चरणसम्म अग्रता लिएकी मार्सल रोमाञ्चक खेलमा लक्ष्मीसँग पराजित भइन। मार्सलले चौथो चरणको खेलमा भक्तपुरकी सविना श्रेष्ठलाई हराइन भने भक्तपुर कै सविना गुजमाथी सफलता हात पारिन् । खुल्लातर्फ १२ जिल्लाका ३५ र महिलातर्फ २० खेलाडीको सहभागीता रहेका छन् ।स्विस लिगको आधारमा जारी सात चरणको प्रतियोगिताका अन्तिम दुई खेल शुक्रबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्