क्रिकेटलाई बेवास्ता, काठमाडौं लगियो खेल



पोखरा ।

२०४० सालमा पोखरामा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता भयो । उक्त प्रतियोगिता गराउँदा पुर्वाधारको अभाव थियो । पूर्वाधारको अभाव भए पनि वैकल्पिक मैदानकै प्रयोग गरेर विभिन्न खेलहरू खेलाइयो । पोखरामा खेलहरू हुँदै गर्दा क्रिकेट खेल भने पोखरा १० अमरसिंहचोकको खुल्ला मैदानमा भयो । ३९ वर्षपछि बल्ल पोखरामा राष्ट्रिय खेलकुद प्रतियोगिता फर्किएर आएको छ । गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना हुँदैछ ।

गण्डकीमा नवौं खेलकुद हुन लागेपछि केन्द्रिकृत नियन्त्रणका कारण गण्डकी प्रदेशका खेलपदाधिकारी तथा खेलकुद मन्त्रीले त असन्तुष्टि नै जनाएका छन् । केही समयअघि पत्रकार सम्मेलन गर्दै युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दिपक मनाङे)ले आफुले १ वर्ष अघिदेखी नै नवौं कामै नभएको बताउँदै आएको सुनाएका थिए । अहिले नवौं खेलकुद गण्डकीमा काम नभएको हो कि भन्ने भान पर्दै गएको खेलकर्मीहरू बताउँछन् ।

गण्डकीमा नवौं सम्बन्धि भने केही पनि तयार छैन । न त पूर्वाधार छ न त खेलाडीका लागि छनोट खेल नै । सुटिङका लागि प्रतियोगिता नै नभई खेलाडी छनोट हुँदै गर्दा गण्डकीले पुरुष क्रिकेट समेत गुमाएको छ । नवौं अन्तरगत पुरुष क्रिकेट काठमाडौंमा खेलाइएको छ । अन्तिम समयमा आएर हतार गर्दै राखेपले काठमाडौंमा प्रतियोगिता गरेको हो । यस विषयमा गण्डकीका आम क्रिकेट खेलाडी तथा क्रिकेट पदाधिकारीले असन्तुष्टि जनाएका छन् । यति मात्र होइन उनीहरूले कतै महिला क्रिकेट पनि गुमाउने हो कि भन्ने शंका लागेको बताउँछन् ।

राखेपले पोखरा क्रिकेट मैदान मर्मत तथा स्तरोन्नतिका लागि बजेट नै छुट्याएन । क्रिकेटका राष्ट्रिय रेफ्री तथा कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले गण्डकीको क्रिकेटलाई तिनै तहले बेवास्ता गरेको गुनासो पोखेँ । उनले आफूहरूले पोखरा मात्रै नभइ गण्डकीका कुनै पनि जिल्लामा क्रिकेट गराउनुपर्ने भएपनि त्यसो नहुँदा निकै दुःख लागेको सुनाए ।

‘हाम्रो कुरा के थियो भने अहिले ११ वटा टिम थियो । ति टिमले २८ खेल खेल्छन् । दुइ खेल खेलायो भने पनि एक हप्ता लाग्छ सकिन । पोखरामा एउटा मात्रै मैदान छ’ उनले भने,‘अन्य मैदानमा लगानी नै गरेन । त्यही भएको एउटा मैदानमा पनि कुनै बजेट नै आएन ।’ उनले गण्डकीमा खेलकुदमा लागि संघदेखि स्थानीय तहसम्म विभिन्न निकाय रहे पनि सबै पदका लागिमात्रै देखिएको सुनाए । ‘हामीसँग गण्डकी प्रदेश सरकार छ, गण्डकी खेलकुद परिषद्, राखेप, स्थानीय तह छ । यहाँ त सरकार धेरै भए काम गर्ने कोही भएनन् ’ उनले भने ।

उनका अनुसार नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा असोजबाटै हुने नेपाल प्रिमियर लिगका कारणले समेत प्रतियोगिता सरेको हुन सक्ने बताए । तर, क्रिकेट पदाधिकारीहरूले प्रिमियर लिग नै गर्ने भए पनि अहिले देखी नै पोखरामा खेल खेलाएको भए हुने बताउँछन् । सिग्देलले तत्कालै राखेपसँग २ करोड रुपैयाँ लगानी गर्न अनुरोध गरेको बताए । उनले आफुहरूले राखेपलाई बारम्बार ताकेता गरेपनि सुनुवाई नभएको गुनासो सुनाए ।

गण्डकीमा पुरुष क्रिकेट समेत नभएपछि ठूलो आर्थिक चलखेल हुने आशंका गरिएको गण्डकीका एक खेलाडीले बताए । उनले पोखराको मैदान उत्कृष्ट हुँदाहुँदै पनि पुरुषको खेल नहुनु दुर्भाग्यपूर्ण रहेको सुनाए । ‘यो सबै पैसाको खेल हो । यहाँ कस्ले बोलिदिने ? आज पोखरामा प्रतियोगिता नहुँदा निकै दुःख लागिरहेको छ’ उनले भने,‘यहाँ ठूलो चलखेल भएको छ । सबैको मिलेमतो छ ।’ उनले काठमाडौंमै खेल गर्दा ठूलो रकमको हिनामिना हुने आरोप लगाए ।

गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङ गुरुङले भने अन्तर्राष्ट्रिय क्रिकेट कमिटी –आईसीसीको समय तालिकाअनुसार नै खेल अघि सार्न बाध्य भएको जानकारी दिए । उनले क्यानले १० दिन अघि आईसीसीको पत्रदेखाउँदै खेल अघि सार्नुपर्ने बताएपछि आफूहरूले सहजीकरण गरेको बताए । उनले प्रदेश क्रिकेट संघले बेवास्ता गरेको भन्न नमिल्ने बताए । साथै गुरुङले जिल्लामा क्रिकेट गर्न त्यति सम्भव नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्