प्रथम भेट्रान्स कप आयोजकलाई



हेटौंडा ।

हेटौंडा–७ स्थित नागस्वतीमा भएको प्रथम नागस्वती भेट्रान्स कप एट ‘ए’ साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि आयोजक नागस्वती भेट्रान्सले जितेको छ ।

फाइनलमा चियापप भेट्रान्सलाई २–१ गोलअन्तरले पराजित गर्दै आयोजकले उपाधि जितेको हो । खेलको पहिलो हाफमा दुवै टोलीबाट सम्मान १ गोल भएपछि दोस्रो हाफमा आयोजकका तर्फबाट एक गोल थप्दै २–१ गोलअन्तर बनाइएको थियो । खेलको म्यान अफ दी म्याच आयोजक नागस्वती भेट्रान्सका राजकुमार घिसिङ घोषित भए ।

खेलको पहिलो हाफमा ठमेल चियापप भेट्रान्सका तर्फबाट नरकुमार राईले ११ औं मिनेटमा गोल गरेका थिए । नागस्वती भेट्रान्सका घिसिङले २०औं मिनेटमा गोल गर्दै गोल बराबरी पु¥याएका थिए । बराबरीमा पुगेको गोलले दोस्रो हाफ रोमाञ्चित भएको थियो । घरेलु मैदानमा नागस्वतीका राजकुमार केसीले ४२ औं मिनेटमा गोल थप्दा नागस्वती विजेता हुन पुग्यो ।

जितसँगै आयोजकले नगद २ लाख १ हजार प्राप्त गरेको छ भने उपविजेता चियापप भेट्रान्सले १ लाख १ हजारमा चित्त बुझाएको छ । आयोजकले सेमिफाइनलमा बगरभाइ भेट्रान्स पोखरालाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो भने चियापप भेट्रान्सले जोरपाटी भेट्रान्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । प्रतियोगितामा देशभरका ४० वर्षमाथि उमेर समूहका पूर्वराष्ट्रिय खेलाडीको १८ समूहको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्