भारतको विजयी शुरुवात



काठमाडौं ।

जारी महिला साफ च्याम्पियनसिप अन्तर्गत समूह ‘ए’ मा रहेको भारतीय टोलीले विजयी सुरुवात गरेको छ । पाँच पटकको च्याम्पियन भारतले दशरथ रंगशालामा भएको खेलमा पाकिस्तानलाई ३–० ले हरायो ।

खेलको सुरुवातमा पाकिस्तानले केही राम्रो मुभ सिर्जना गरे पनि पाकिस्तानी कप्तानले आत्मघाती गोल गरेपछि भारत खेलमा हावी भएको थियो ।खेलको २० औं मिनेटमा भारतले अग्रता लियो । भारतकी सन्ध्या रंगनाथनले बायाँ विंगबाट गरेको क्रस गोलरक्षक सहिदा महापाराले बचाएकी थिइन् । तर रिबाउन्डमा आएको बल कप्तान मारिया खानलाई लाग्दै आफ्नै पोस्टमा छिरेको थियो । यसको दुई मिनेट ननाघ्दै भारतले अग्रता दोब्बर पारेको थियो । दाङमेइ ग्रेसले पेनाल्टी क्षेत्र भित्रबाट गोल गर्दै २–० को अग्रता दिलाइन् ।

उनले अञ्जु तामाङको चलाखीपूर्ण पासलाई नियन्त्रणमा लिँदै वन भर्सेस वनमा गोल गरेकी थिइन् । पहिलो हाफ २–० मा रहेको भारतले दोस्रो हाफमा धेरै गोल अवसर गुमाएको थियो । पाकिस्तानी टोली डिफेन्समै व्यस्त भयो भने गोलरक्षकले पनि पाकिस्तानलाई धेरै अन्तरमा हार्नबाट जोगाएकी थिइन् । इन्ज्युरी समयमा भारतले अर्को गोल थपेको थियो । रञ्जना चानुको क्रसमा सौम्या गुगुलगोठले गोल गर्दै टोेलीको ३–० को जित पक्का गरिन् ।

प्रतिक्रिया दिनुहोस्