सन्दीपमाथि जबरजस्ती करणीको आरोप



काठमाडौं । 

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान अघि बढाएको छ । सन्दीपविरुद्ध जबरजस्ती करणी कसुरमा प्रहरी बृत गौशालामा परेको जाहेरीमा प्रहरीले अनुसन्धान अघि बढाएको जनायो । २२ वर्षीय सन्दीपले बालिकालाई भदौ ५ गते काठमाडौं र भक्तपुरको विभिन्न स्थानमा लगेका थिए ।

मंगलबार दिएको जाहेरीमा जनाएअनुसार सन्दीपले भदौ ५ गते नगरकोटबाट काठमाडौं ल्याएर राति करिब ११ः ५५ बजे काठमाडौं जिल्ला महानगरपालिका ९ स्थित एक होटलमा कोठा नम्बर ३ सय ५ मा राति १२ ः२५ मा बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेकोे छ । उक्त जाहेरी भदौ २१ मा प्रहरी वत्त गौशालामा परेको थियो ।प्रहरीले उक्त जाहेरी दरखास्त गरी पीडितलाई एकद्वार संकट व्यवस्थापन केन्द्रमा विस्तृत स्वास्थ्य परीक्षण गराएको थियो । अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्तरूपमा खटिएको प्रहरीले घटना थप अनुसन्धान गरेको जनाएको छ ।

घटनामा बताएअनुसार पीडित युवती काठमाडौंको एक कलेजकी विद्यार्थी हुन् । उनी सन्दीपकी फ्यानसमेत थिइन् । उनीहरूबीच सामाजिक सञ्जाल स्न्यापच्याट र ह्वाट्स एपमा कुराकानी हुने गरिएको थियो । सोहीमार्फत सन्दीपले उनीसँग भेटघाट गर्ने प्रस्ताव राखेका थिए । स्न्यापच्याटको संवाद आफैं मेटिने पनि बताइएको छ ।

सन्दीप जमैकामा

नेपाली क्रिकेट टोली भदौ ६ मा केन्या प्रस्थान गरेको थियो । उक्त समयमा सन्दीपसहित ११ खेलाडी केन्या प्रस्थान गरेका थिए । केन्यासँगको पाँच टि–२० आई सिरिज नेपालले ३–२ ले जितेको थियो । कप्तान सन्दीप टि२० आई सिरिजमा प्लेयर अफ द सिरिज चुनिएका थिए ।
सन्दीपले केन्यासँगको तीन एकदिवसीय अभ्यास खेल भने खेलेका थिएनन् । क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्टइन्जि गएपछि रोहित पौडेलले कप्तानी गरेका थिए । सीपीएलमा सन्दीप जमैका तलवाजको टोलीमा छन् ।

क्यानको आपतकालीन बैठक

यो घटना विवरण आएपछि नेपाल क्रिकेट संघ (क्यान) को आपतकालीन बैठक बसेको थियो । क्यानले प्रहरीको अनुसन्धानमा सघाउने बताइएको छ । क्यानले सन्दीपसँग जमैकामा सम्पर्क गर्ने प्रयास गरिरहेको पनि बताइएको छ । सन्दीप गत वर्ष पुसमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्