भारत एसिया कपको सुपर फोरमा



नयाँ दिल्ली, (एजेन्सी) । 

भारतले हङकङलाई ४० रनले हराउँदै टि२० एसिया कप २०२२ को सुपर फोरमा स्थान बनाएको छ । भारत समूह ‘ए’ बाट अपराजित रहँदै सुपर फोरमा पुगेको हो । जितको लागि १ सय ९३ रनको विशाल लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५२ रन बनायो । हङकङका बाबार हयातले ३५ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४१ रन बनाए ।

किञ्चित शाहले २८ बलमा २ चौका र १ छक्कासहित ३०, अजिज खान १४, जिशान अली २६ र स्कट म्याककेचनी १६ रन बनाए । भारतका भुवनेश्वर कुमार, अर्शदीपसिंह, रविन्द्र जडेजा र आवेश खानले एक–एक विकेट लिए । त्यसअघि, दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९२ रन बनाएको थियो । भारतका विराट कोहली ४४ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ५९ रनमा अविजित रहे । सूर्यकुमार यादव २६ बलमा ६ चौका र ६ छक्का प्रहार गर्दै ६८ रनमा अविजित रहे ।

तेस्रो विकेटका लागि विराट र सूर्यकुमारले ४२ बलमा ९८ रनको अविजित साझेदारी गरेका थिए । पहिलो विकेटका लागि रोहित शर्मा र लोकेश राहुलले ३१ बलमा ३८ रनको साझेदारी गरेका थिए । रोहित आयुष शुक्लाको बलमा अजित खानबाट २१ रनमा क्याच आउट भए । रोहितले १३ बलमा २ चौका र १ छक्का प्रहार गरे । दोस्रो विकेटका लागि राहुल र कोहलीले ४९ बलमा ५६ रनको सुस्त सुरुवात गरेका थिए । राहुल ३९ बलमा २ छक्कासहित ३६ रनमा आउट भए ।

सूर्यले आक्रामक ब्याटिङ गर्दै इनिङ उकासेका थिए । सूर्यले अन्तिम ओभरमा हारुन अर्शदलाई चार छक्कासहित कुल २६ रन जोडेका थिए । सुस्त सुरुवात गरे पनि सूर्यकुमार यादवले विस्फोटक ब्याटिङ गर्दै भारतलाई विशाल योगफलमा पुर्याए । हङकङका आयुष शुक्ला र मोहम्मद गजानफरले एक-एक विकेट लिए । समूह ‘बी’ बाट अफगानिस्तान अपराजित रहँदै सुपर फोरमा पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्