वर्षाका कारण गण्डकी र पुलिस संयुक्त विजेता



पोखरा । 

लगातारको वर्षाको कारण फाइनल खेल हुन नसकेपछि लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा गण्डकी प्रदेश र नेपाल पुलिस क्लब संयुक्तरूपमा विजेता बनेका छन् ।

आयोजक नव आदर्श सामुदायिक विकास समाजले पुरुषतर्फको विधामा दुवै टोलीलाई संयुक्त विजेता घोषणा गरेको हो । निर्धारित तालिकाअनुसार भदौ १४ गते फाइनल हुनुपर्ने भए पनि वर्षाका कारण खेल दुई दिनपछि धकेलिएको थियो । तर, बिहीबारको लागि तय भएको फाइनल र तेस्रो स्थानको खेल पनि वर्षाले हुन नसक्ने भएपछि आयोजकले क्लबसँगकै सहमतिमा यो निर्णय लिएको हो ।

नव आदर्श सामुदायिक विकास समाजले बिहीबार विज्ञप्ति जारी गर्दै मौसम प्रतिकुलका कारण आयोजक, जुरी निर्णायक र चारवटै टिमको सहमतिमा खेल स्थगन गरी पुलिस र गण्डकीलाई पहिलो र दोस्रो वापतको पुरस्कार रकम तथा आर्मी र एपीएफलाई तेस्रो पुरस्कार रकम बराबर बाँडेर दिने उल्लेख गरेको छ ।

निर्णयबमोजिम फाइनलमा पुगेको नेपाल पुलिस क्लब र गण्डकी प्रदेशको टिमले प्रथम पुरस्कार र दोस्रो पुरस्कारवापत जोडेर हुने कुल २ लाख ५० हजार २ सय २२ रुपैयाँ आधा आधा बाँडेर लिएका छन् । उपाधिसहित प्राप्त हुने ट्रफीमा अर्को एक थप गरी दुवै टिमलाई बाँडिएको छ । यसैगरी, तेस्रो स्थानको लागि प्रतिस्पर्धाको तयारीमा रहेका त्रिभुवन आर्मी क्लब र एफीएफले तेस्रो स्थानवापत प्राप्त हुने ५० हजार १ सय ११ रुपैयाँ बाँडेर लिएका छन् । तेस्रोलाई प्राप्त हुने ट्रफीसमेत थप गरी प्रदान गरिएको जुरी कमिटी संयोजक समेत रहेका भलिबल संघका केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङले बताए ।

गण्डकीले नेपाल एपीएफ क्लबलाई ३–२ को सेटमा तथा पुलिसले त्रिभुवन आर्मी क्लबलार्ई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । भदौं ११ बाट शुरु भएको प्रतियोगिताको पहिलो दिन चार खेल तय भए पनि एक खेल मात्रै र दोस्रो दिन पनि एक खेल मात्रै भएपछि खेल दुई दिन लम्विन पुगेको थियो । बिहीबार पनि खेल हुन सकेन ।

महिलातर्फ बुधबार सर्वाधिक चार पटकको च्याम्पियन न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल पुलिसले लगातार दोस्रो वर्ष तथा समग्रमा दोस्रोपटक उपाधि हात पारेको थियो । पहिलो संस्करणमा फाइनलमा पुलिस एपीएफसँग पराजित हुँदै उपाधिविमुख बन्दा अघिल्लो संस्करणमा न्यु डायमन्डलाई नै हराएर उपाधि जितेको थियो । गण्डकी प्रदेशलाई २५–१७, २५–१७ र २५–१५ ले हराएर आर्मीले तेस्रो स्थान हासिल गरेको छ ।

महिलातर्फ पुलिसकी उषा भण्डारी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । व्यक्तिगत विधागततर्फ न्यु डायमण्डकी प्रगती नाथ उत्कृष्ट सेटर, आर्मीकी साफिया पुन उत्कृष्ट ब्लकर, डायमन्डकी सलिना बुढा मगर उत्कृष्ट सर्भर, पुलिसकी कामना विष्ट उत्कृष्ट स्पाइकर र डायमन्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिवेरो घोषित भइन् । पुलिसका रुपेश कुमार विष्ट उत्कृष्ट प्रशिक्षक बने । उनीहरू सबैले ट्रफी पाएका छन् । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा गत भदौ ११ देखि भएको प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टिमको सहभागिता रहेको थियो । महिलातर्फ नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड युथ स्पोर्टस् क्लब र गण्डकी प्रदेश तथा पुरुषतर्फ नेपाल पुलिस, एपीएफ, त्रिभुवन आर्मी क्लब, मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्