इन्टरले जित्दा मिलानको बराबरी



लन्डन, (एजेन्सी) । 

इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले सहज जित हात पार्दा साविक विजेता एसी मिलान बराबरीमा रोकिएको छ । इन्टर मिलानले क्रेमोनेसेलाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।

घरेलु टोली इन्टरको जितमा जोआक्विन कोरेआ, निकोलो बरेल्ला र लोउटारो मार्टिनेजले गोल गरेका थिए । क्रेमोनेसेका तर्फबाट डेभिड ओकिरेकीले एक गोल फर्काएका थिए । मिलानोमा मंगलबार राति भएको खेलको १२औं मिनेटमा जोआक्विन कोरेआल गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । खेलको ३८औं मिनेटमा निकोलो बरेल्लाले गोल गररेपछि इन्टरको अग्रता दोब्बर बनेको थियो । त्यस्तै, ७६औं मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई ३–० ले अघि बढाए । अन्तिम समयमा क्रेमोनेसेका डेभिड ओकिरेकीले एक गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए पनि टोलीको हार टार्न पर्याप्त भएन । यो जितसँगै इन्टर चार खेलबाट ९ अंक भएको छ । पराजित क्रेमोनेसे भने अंकविहीन नै रहेको छ ।

त्यसैगरी, एसी मिलान भने घरेलु टोली सस्सुलोसँग गोलरहित बराबरीमा रोकिएको हो । खेलको २३औं मिनेटमा सस्सुलोले पेनाल्टीको अवसर खेर फालेको थियो । खेल अवधिभर घरेलु टोलीलाई दवाबमा राखे पनि मिलानले गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । यो बराबरीसँगै मिलान चार खेलबाट ८ अंक रहेको छ । सस्सुलोको भने ५ अंक रहेको छ । त्यसैगरी अर्को खेलमा रोमाले मोन्जालाई ३–० गोलअन्तरले हराएको छ । रोमालाई जित दिलाउन पाउलो डिबालाले दुई गोल गरे । रोजर इबान्जेको नाममा एक गोल रह्यो । यस जितसँगै रोमाले ४ खेलमा १० अंक जोडेको छ । मोन्जा भने अंकविहीन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्