पुलिस फेरि च्याम्पियन



पोखरा । 

लामाचौर कप भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबले उचालेको छ । चारपटकको च्याम्पियन न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बन्न सफल भएको हो । यस अघिको संस्करणमा पनि पुलिसले न्यु डायमन्डलाई नै हराएर उपाधि जितेको थियो ।

लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी मा.वि.को भलिबल कोर्टमा बुधबार भएको फाइनलमा युवा खेलाडीको बाहुल्यता रहेको पुलिससामु खुलेर खेल्न सकेन । पहिलो सेट २५–१५ ले सहजै गुमाएको डायमन्डले दोस्रो सेट पनि २५–१४ ले सहजै पुलिसलाई सुम्पेको थियो । तेस्रो सेटमा पुलिसले १८–५ को आरामदायी अग्रता लिँदा वर्षा भएपछि खेल झन्डै एक घण्टा ४५ मिनेटपछि शुरु भएको थियो । यो सेटमा पुलिस २५–८ ले विजयी हुँदै उपाधि जित्न सफल भयो ।

पुलिसले तेस्रोपटक फाइनल खेल्दा दोस्रोपटक उपाधि जित्न सफल भएको हो । पहिलो संस्करणमा पुलिस एपिएफसँग पराजित भएको थियो । पुलिसले १ लाख ५० हजार १ सय ११ रुपैयाँ तथा न्यु डायमन्डले १ लाख १ सय ११ रुपैयाँ प्राप्त गरेका छन् । तेस्रो भएको त्रिभुवन आर्मी क्लबले ५० हजार १ सय ११ रुपैयाँ हासिल ग¥यो ।

बुधबारै गण्डकी प्रदेशलाई २५–१७, २५–१७ र २५–१५ ले हराएर आर्मीले तेस्रो स्थान हासिल गरेको थियो । पुरुषतर्फ उपाधिका लागि बिहीबार गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । गण्डकीले मंगलबार नेपाल एपीएफ क्लबलाई ३–२ को सेटमा तथा पुलिसले बुधबार आर्मीलाई ३–१ को सोझो सेटमा हराएर फाइनलमा स्थान बनाएको छ । पुरुषतर्फ तेस्रो स्थानको खेल पनि आजै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्