युनाइटेडद्वारा क्यासेमिरो सार्वजनिक



एजेन्सी ।

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले ब्राजिलियन मिडफिल्डर क्यासेमिरोलाई सार्वजनिक गरेको छ ।

स्पेनिस क्लब रियल मेड्रिडबाट क्लब भित्र्याएको युनाइटेड सोमबार राति ओल्ड ट्राफोर्डमा सार्वजनिक गरेको हो । प्रिमियर लिग अन्तर्गत युनाइटेड र लिभरपुलबीचको खेलअघि उनलाई सार्वजनिक गरिएको हो । त्यस खेलमा युनाइटेडले लिभरपुललाई २–१ गोलअन्तरले हराउन सफल भयो । उक्त खेलमा युनाइटेडका लागि जेडन सान्चो र मार्कस रासफर्डले गोल गरे भने लिभरपुलका मोहमद सलाहले एक गोल फर्काएका थिए ।

युनाइटेडले सार्वजनिक गर्नुअघि उनले क्लबसँग सम्झौता गरेका थिए । ३० वर्षीय मिडफिल्डरले युनाईटेडसँग चार वर्षको सम्झौता गरेका छन् । युनाइटेडले रियल मेड्रिडबाट ७० मिलियन युरोमा चार वर्षको लागि क्लबमा अनुबन्ध गर्न सफल भएको हो । सम्झौता अनुसार थप एक वर्ष सम्झौता लम्ब्याउन सक्ने प्रावधान पनि रहेको छ । उनले यो रियलमा पाएको पारिश्रमिकभन्दा झन्डै दोब्बर नै हो । क्यासमिरोले ९ वर्षको रियल बसाई अन्त्य गर्दै म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका हुन् ।

रियलले सोमबार नै क्यासमिरोलाई एक कार्यक्रमबीच बिदाइ गरेको थियो । रियलको प्रशिक्षण मैदानमा भएको बिदाइ कार्यक्रममा क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेज पनि निकै भावुक भएका थिए । ब्राजिली मिडफिल्डर क्यासमिरोले भने आफू पैसाको लागि रियल छाडेर इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा आबद्ध नभएको र आफू एक उत्कृष्ट क्लबबाट अर्काे उत्कृष्ट क्लबमा स्थानान्तरण भएको बताएका छन् । क्यासमिरो सन् २०१३ मा ब्राजिली क्लब साओ पाउलोबाट रियलमा आबद्ध भएका थिए । यो ९ वर्षको अवधिमा क्यासमिरोले रियलबाट १८ उपाधि जितेका छन् ।

उनले पाँचपटक च्याम्पियन्स लिग, तीन पटक ला लिगा, तीन युईएफए सुपर कप, तीन स्पेनिस सुपर कोपा र तीन फिफा क्लब विश्वकप जितेका छन् । रियलमा अनुबन्ध भएकै वर्ष उनले रियलको ‘बी’ टोली हुँदै सिनियर टोलीमा स्थान बनाएका थिए । तर, २०१४–१५ को सिजनमा भने उनी लोनमा पोर्चुगिज क्लब पोर्टाे पुगेका थिए ।

त्यसपछि उनी निरन्तर रियलको पहिलो रोजाइमा खेलिरहेका छन् । रियलबाट उनले रियलबाट आठ सिजन खेल्दा ३ सय ३६ खेलमा ३१ गोल गरेका छन् । २०११ देखि ब्राजिलको टोलीमा रहेका क्यासमिरोले ब्राजिलबाट कोपा अमेरिका २०१९ जितेका छन् । उनी यस वर्षको बालोन डिओरका लागि मनोनयनमा परेका ३० खेलाडीको सूचीमा समेत अटाएका छन् ।

प्रतिक्रिया दिनुहोस्