तनहुँमा दुई लाख पुरस्कारको फुटबल



तनहुँ । 

‘प्रथम मेयर कप व्यासमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने नारासहित तनहुँमा ठूलो राशिको ‘प्रथम मेयर कप सेभेन ए साइड फुटबल प्रतियोगिता’ हुने भएको छ ।

व्यास नगरपालिका–४ स्थित शितलचोक युवा क्लबले जिल्लामा सर्वाधिक राशीको फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । व्यास नगरपालिका–३ स्थित विपी वनवाटिका खेलमैदानमा भदौ ८ गतेदेखि प्रतियोगिता सञ्चालन गर्न लागिएको र प्रतियोगिताको तयारी तीव्र गतिमा अगाडि बढाइएको खेल संयोजक राजेश मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताका लागि २९ क्लबले दर्ता गरिसकेको र दर्ता गर्ने क्रम जारी रहेको छ । देशभरका खेलाडी सहभागी हुने जनाइएको छ ।

प्रतियोगितामा तनहुँ लगायत कास्की, काठमाडौ, स्याङ्जा, धादिङ लगायतका स्थानबाट क्लबहरुले दर्ता गराइसकेको उहाँले जानकारी दिनुभयो । प्रतियोगितामा विजेताले नगद दुई लाख दुई हजार दुई सय २२ र उपविजेताले एक लाख ११ हजार एक सय ११ रुपियाँ पुरस्कार प्रदान गरिने मल्लले बताउनुभयो ।
त्यस्तै, उत्कृष्ट खेलाडीलाई सात हजार ५ सय, उत्कृष्ट गोलरक्षकलाई सात हजार ५ सय र सर्वाधिक गोलकर्तालाई सात हजार ५ सय रुपियाँ पुरस्कार प्रदान गरिने क्लबका सल्लाहकार माधव न्यौपानेले बताउनुभयो । उहाँका अनुसार क्वाटरफाइनलका खेलबाट ‘म्यान अफ दि म्याच’ खेलाडी घोषणा गरी एक हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि करिब ११ लाख ६ सय ११ रुपियाँ खर्च हुने अनुमान गरिएको न्यौपानेले जानकारी दिए । प्रतियोगिताबाट ११ लाख ९० हजार रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ । प्रतियोगिताबाट नाफा भएको रकम युवा तथा खेलकुदको विकासमा लगानी गरिने न्यौपानेले बताउनुभयो ।
प्रतियोगिता सम्पन्न गर्नका लागि २६ उपसमिति र चार सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

जिल्लामा खेलमैदानको पूर्वाधार नहुँदा ११ ए साइड प्रतियोगिता सञ्चालन गर्न नसकिएकाले सेभेन ए साइड प्रतियोगिता आयोजना गर्नुपरेको आयोजकले जनाएको छ । प्रतियोगिता खुल्ला भएकाले जुनसुकै जिल्लाका खेलाडीले पनि प्रतियोगितामा भाग लिन पाउने प्रतियोगिताका आर्थिक व्यवस्थापन समितिका संयोजक दुर्गाराज राना मगरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्