८ सेकेन्डमै एमबाप्पेको गोल



लन्डन, (एजेन्सी) । 

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गरेको छ । फरवार्ड केलियन एमबाप्पेको ह्याट्रिक तथा नेयमारको ह्याट्रिक असिस्ट मद्दतमा पीएसजीले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गरेको हो ।

पीएसजीले लिलमाथि उसकै मैदानमा ७–१ फराकिलो गोलअन्तरको जित दर्ता गरेको हो । पीएसजीको जितमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दा नेयमारले दुई तथा लियोनेल मेसी र अचरफ हाकिमीले समान एक गोल गरे । लिलका जोनार्थन बम्बाले एक गोल फर्काए ।

लिलको मैदानमा आइतबार राति भएको खेलको ८ सेकेन्डमै एमबाप्पेको गोलबाट पीएसजीले सुरुवाती अग्रता लिएको थियो । उनले लियोनेल मेसीको पासमा गोल गर्न सफल भएका थिए । योसँगै उनले फ्रेन्च लिग वानमा सबैभन्दा छिटो गोल गर्ने नयाँ कीर्तिमानसमेत बनाएका छन् । खेलको २७औं मिनेटमा नुनो मेन्डिसको पासमा मेस्सीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे ।

३९औं मिनेटमा अचरफ हाकिमीले गोल गर्दै पिएसजीलाई ३–० ले अघि बढाए । हाकिमीले नेयमारको पासमा गोल गर्न सफल भएका थिए । ४३औं मिनेटमा नेयमारले गोल गरेपछि पिएसजी पहिलो हाफमा ४–० ले अघि बढ्यो ।

खेलको ५२औं मिनेटमा नेयमारले हाकिमीको पासमा गोल गरेपछि पीएसजी खेलमा ५–० ले अघि बढ्यो । ५४औं मिनेटमा जोनार्थनले गोल गर्दै खेललाई ५–१ को स्थितिमा ल्याए । त्यसपछिको पिएसजीको दुवै गोल एमबाप्पेको नाममा रहँदा उनले ह्याट्रिक पूरा गरे । एमबाप्पेले ६६औं मिनेटमा तथा ८७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्दा नेयमारले पनि ह्याट्रिक असिस्ट प्रदान गरेपछि पीएसजी ७–१ को फराकिलो अन्तरले विजयी हुन सफल भयो । यो जितसँगै अपराजित रहेको पीएसजी तीन खेलबाट ९ अंक जोडेको छ । पराजित लिलको चार अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्