बार्सिलोनाको जितमा लेवान्डोस्कीको गोल



लन्डन, (एजेन्सी)  । 

 जारी सिजनको स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले पहिलो जितको नतिजा निकालेको खेलमा पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीको दुई गोल योगदान गरेका छन् ।

बार्सिलोनाले रियल सोसिडाडलाई उसैको घरेलु मैदानमा ४–१ गोलअन्तरको सहज पराजित गरेको हो । बार्सिलोनाको जितमा लेवान्डोस्कीले दुई गोल गर्दा औसमाने डेम्बेले र अन्सु फातीले समान एक गोल गरे । आइतबार राति भएको खेलको पहिलो मिनेटमा नै लेवान्डोस्कीको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिन सफल भएको थियो ।

उनले एलेक्स बाल्डेको पासमा गोल गर्न सफल भए । छैटौं मिनेटमा एलेक्सान्डर इसाकले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याउदा पहिलो हाफ बराबरीमा सकिएको थियो ।तर, सोसिडाडले बार्सिलोनालाई दोस्रो हाफमा रोक्न सकेन । परिवर्तित खेलाडी अन्सु फाती दोस्रो हाफको तीन गोलमा सम्मिलित भए । ६४औं मिनेटमा फेरान टोरेसको स्थानमा मैदान छिरेका फातीले ६६औं मिनेटमा औसमाने डेम्बेलेको गोलमा असिस्ट दिए ।

६८औं मिनेटमा लेवान्डोस्कीको दोस्रो तथा टोलीको तेस्रो गोलमा फातीले असिस्ट प्रदान गरे । त्यसपछि फातीले ७९औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई पहिलो जित दिलाए । बार्सिलोना यसअघि सिजनको पहिलो खेलमा रायो भालेकानोसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

पहिलो जितसँगै बार्सिलोना दुई खेलबाट चार अंक जोडेको छ । पहिलो हार बेहोरेको सोसिडाड तीन अंक रहेको छ । ला लिगाकै अर्काे खेलमा भिल्लारियलले एट्लेटिको मेड्रिडलाई २–० ले पराजित गरेको छ । भिल्लारियलको जितमा यारेमी पिनो र जेरार्ड मोरेनो गोल गरे । त्यस्तै अर्काे खेलमा एथ्लेटिको बिल्वाओले पनि भ्यालेन्सियालाई १–० ले पराजित गर्दै तीन अंक बटुल्यो ।

प्रतिक्रिया दिनुहोस्