प्रभाकरको केन्याविरुद्ध परीक्षण हुँदै



काठमाडौं । 

मनोज प्रभाकरको नेतृत्वमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीको सोमबार बिदाइ भएको छ । केन्यामा हुन लागेको पाँच टी–२० आई र तीन वानडे खेलको शृंखला खेल्न नेपाली टोली त्यसतर्फ प्रस्थान गर्न लागेको हो । प्रभाकर मुख्य प्रशिक्षकको रूपमा यो पहिलो शृंखला हुनेछ । यसै शृंखलाबाट भारतीय पूर्व अलराउन्डर प्रभाकरको परीक्षण पनि हुनेछ ।

प्रभाकरले राम्रो प्रदर्शन गर्ने बताए । उनले सन्दीप लामिछाने राम्रो कप्तान र क्षमतावान् खेलाडी रहेको पनि बताए । उनले भने—सन्दीप हुनु युवा टोलीको लागि यो राम्रो संकेत हो । आशा छ केन्या भ्रमणमा राम्रो प्रदर्शन हुनेछ’, नेपाली कप्तान सन्दीप लामिछानेले प्रभाकरको नेतृत्वमा नयाँ सुरुवात हुने बताए । उनले अपेक्षाअनुसारकै नतिजा निकाल्ने पनि बताए । यदि, केन्यासँग सकारात्मक नतिजा निकाल्न सकेमा नेपाली टोलीको वरीयता पनि माथि हुनेछ ।

नेपालको लागि २०२४ को टी २० विश्वकपमा सीधै छनोट हुने पनि सकिनेछ ।केन्याविरुद्धको शृंखलाले टी २० वरियतामा ठूलो प्रभाव पार्नेछ । सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टी २० विश्वकपमा सहभागी पक्का भए बाहेकबाट वरीयताको शीर्ष दुई टोलीले सोझै विश्वकप खेल्न पाउने अवसर पनि छ । केन्याले सन् १९९६ देखि २०११ सम्म लगातार पाँचपटक एकदिवसीय विश्वकप खेलेको थियो । उक्त विश्वकपमा केन्याले श्रीलंका, जिम्बावे, बंगलादेशलाई हराउँदै सेमिफाइनल खेल्दै विश्व क्रिकेटमा सनसनी मच्चाएको थियो ।

त्यस्तै, केन्याले २००७ को टी २० विश्वकप खेलेको थियो । सन् २००० देखि २००४ सम्म गरि तीनपटक च्याम्पियन्स ट्रफी खेलेको थियो । पछिल्लो एक दशकमा भने केन्या ठूल्ठूला प्रतियोगिता खेल्नबाट वञ्चित भइरहेको छ । नेपाल र केन्या दुवैले २०२३ मा हुने एकदिवसीय विश्वकप छनोट चरण खेलिरहेका छन् । नेपालले माथिल्लो स्तरको खेल्दा केन्याले सबैभन्दा तल्लोक्रमको छनोट खेलेको छ ।

नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज खेल्दै आएको छ । केन्याले क्रिकेट विश्वकप च्यालेन्ज लिग ‘बी’ खेलेको छ । जसमा केन्या, हङकङ, इटाली, बर्मुडा, जर्सी र युगान्डा छन् । च्यालेन्ज लिगको शीर्षस्थानमा रहने टोलीले विश्वकप ग्लोबल छनोट हुन ‘प्लेअफ’ खेल्नुपर्ने हुन्छ ।

यता नेपाल भने लिग–२ को शीर्ष तीन स्थानमा रहेमा सोझै विश्वकप ग्लोबल छनोट खेल्नेछ । अन्यथा प्लेअफ खेल्नुपर्ने हुन्छ । नेपाल र केन्याले अन्तिम पटक डिभिजन टु मा २०१८ मा नामिबियामा प्रतिस्पर्धा गरेका थिए । उक्त खेलमा नेपालले केन्यालाई तीन विकेटले हराएको थियो ।

खेल तालिका

पहिलो टी–२० आई खेल – भदौ ९
दोस्रो टी–२० आई खेल – भदौ १०
तेस्रो टी–२० आई खेल – भदौं १२
चौथो टी–२० आई खेल – भदौं १३
पाँचौं टी–२० आई खेल – भदौं १४
तीन एकदिवसीय अभ्यास खेल
पहिलो खेल – भदौ १७
दोस्रो खेल – भदौ १८
तेस्रो खेल – भदौ २०

प्रतिक्रिया दिनुहोस्