सुन तस्करसँग साँठगाँठ गरेको आरोपमा वरिष्ठ सई कार्कीमाथि छानबिन शुरू



काठमाडौं । 

गृहमन्त्री बालकृष्ण खाँणको अंग रक्षकका रूपमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षकले सुन तस्करसँग साँठगाँठ गरेर एक युवकलाई थुनाएको आरोपमा प्रहरी प्रधान कार्यालयले छानबिन शुरू गरेको छ ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले आइतबार नेपाल समाचारपत्रलाई गृहमन्त्री खाँणको अगंरक्षकका रूपमा खटिएका वरिष्ठ सई टंक कार्कीलाई प्रहरी प्रधान कार्यालय तानेर छानबिन शुरू गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘उहाँमाथि विभिन्न आरोप लागेको छ । प्रधान कार्यालयमा रहेको उजुरी छानबिन शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठको संयोजकत्वमा छानबिन शुरू भएको छ ।’दुबईबाट नेपाल आएका अजयकुमार रोकाले दुबईबाट ल्याएको सुन हिनामिना गरेको आरोप लगाउँदै वरिष्ठ सई कार्की र आकाश ठकुरीले रोकालाई विभिन्न व्यक्तिको नाममा जबरजस्ती गरेर चेक काट्न लगाएको पीडित रोकाले आरोप लगाउनु भएको छ ।

असार ९ मा युएईबाट हिमालय एयरलाइन्सको जहाजमा ६ जना व्यक्तिले आफूसँग ५०–५० ग्राम तौलका सुन लिएर आएका थिए । रोकासँगै आएका ५ जना भन्सार पास गरेर गए पनि रोकाले भने आफूले ल्याएको सुन गलत व्यक्तिलाई दिएपछि वरिष्ठ सई कार्कीले रोकालाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त गौशालाको थुनामा राखेका थिए ।

वरिष्ठ सई कार्की र ठकुरीले रोकालाई कृष्णप्रसाद भट्टराई, दिनेश आचार्य, युद्धबहादुर घर्ती, आलबहादुर बम र नवराज हमालको नाममा चेक काट्न लगाएर लिएर गएको पीडितको आरोप छ । पीडितका अनुसार चेक काटेर लगे पनि चेक नसाटिए थुनामा राख्ने धम्की दिँदै रोकालाई ११ दिनसम्म थुनाएर राखेका थिए । गौशाला वृत्तको हिरासत दुरूपयोग गरेर ११ दिन युवकलाई थुन्दा त्यहाँ कार्यरत डीएसपी केशव भट्टराईले कोही कसैलाई पनि रोकाको बारेमा जानकारी नगराएको आरोप लागेको छ ।

पर्यटक भिसामा यूएई गएर फर्कन लागेका उनीहरूलाई तस्करले ‘विमानस्थलमा लिन आउने मेरो मान्छेलाई दिनु’ भनेर सुन दिएर पठाएका थिए । सुन हराएपछि सुन तस्करको निर्देशनअनुसार वरिष्ठ सई कार्कीले चितवनका रोकालाई पक्राउ गरेर धम्क्याएको र थुनामा राखेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्