नेपालगन्जदेखि जहाजमै काठमाडौं पु-याइन्छ ब्राउनसुगर



बाँके ।

कोहलपुरका रोहन शाह नेपालगन्ज विमानस्थलको यात्रु आराम कक्षमा बसिरहेका थिए । यती एयरबाट काठमाडौं जान थालेका उनी जहाज उडानको पर्खाइमा थिए ।

जहाज उड्नु अघि नै प्रहरीको टोली विमानस्थलको यात्रु आराम कक्षमा पुग्यो । विशेष सुराकीको आधारमा प्रहरीको टोली त्यहाँ पुगेको थियो । प्रहरीलाई देखेपछि शाहको छटछटी शुरू भयो । प्रहरीले शाहको खानतलासी लियो । उनको साथमा कालो प्लास्टिकको दुईवटा पोका फेला प-यो । प्रहरीले शाहलाई नियन्त्रणमा लिएर प्लास्टिक खोलेर हेर्दा ठूलो मात्रामा लागुऔषध ब्राउनसुगर बरामद भयो ।

बाँके प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तिमगरका अनुसार, शाहको साथबाट ६४ ग्राम ७ सय ५० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ ।ठूलो मात्रामा ब्राउनसुगर बोकेर एयरपोर्टभित्र छिरिसकेका शाहलाई नियन्त्रणमा लिएको प्रहरीले उनको बारेमा गहन अनुसन्धान गरिरहेको जनाएको छ । शाहले प्रहरीलाई झुक्याउने प्रयास गरिरहेका छन् । उनले फरक–फरक कुरा गरिरहेका छन् ।

बाँके प्रहरीले विमानस्थलबाट लागुऔषधसहित कारोबारीलाई पक्राउ गरेको यो पहिलो घटना भने होइन । चालु आर्थिक वर्षको यो पहिलो घटना भए पनि यसअघि एयरपोर्टबाटै ९ ग्राम २० मिलिग्रामसहित तीन जना, चार ग्राम ९ सय ६० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरिएको थियो । पछिल्लो केही वर्षयता विमानस्थलबाट प्रहरीले १४ पटक लागु औषधी र कारोबारीलाई नियन्त्रणमा लिएको छ ।

बाँके सीमावर्ती जिल्ला हो । जिल्लाको सदरमुकाम नेपालगन्ज भारतीय बजार रूपैडिहासँग जोडिएको छ । भारतमा खुल्लमखुल्ला कारोबार हुने ब्राउनसुगर विभिन्न तरिकाले नेपालगन्ज भित्रिने गर्दछ । ब्राउनसुगरको ‘च्यानलवाइज’ सप्लाई भएको पाइन्छ । नाका कटाउने, बजारमा होल्ड गर्ने र सम्बन्धित ठाउँमा पु¥याउने फरक–फरक व्यक्ति हुने गर्दछन् । प्रायः क्यारिङवालाई प्रयोग गर्ने डिलर कारोबारीहरू कमै मात्रामा पक्राउ परेको पाइन्छ ।

नेपालगन्जमा भारतीयले नै ब्राउनसुगर पु¥याइदिने गर्दछन् । आफै कारोबार गर्न आउनेहरू पनि कम छैनन् । जसको उदाहरण जिल्ला कारागार र प्रहरीको हिरासतमा रहेका भारतीय थुनुवालाई हेर्दा पुग्छ । नेपालगन्ज कारागारमा सात सय बढी बन्दी हुँदा आधाजसो ब्राउनसुगरका छन् । ५० बढी भारतीय नागरिक रहेका छन् ।नेपालगन्जमा काठमाडौंबाटै लागुऔषध लिन पनि आउँछन् । यतैबाटै पु¥याइदिने बढी हुन्छन् । हेटौंडाबाट गाडीमा आएर ब्राउनसुगर लिएर जाँदा केही महिनाअघि एक जना पक्राउ परेका थिए । प्रहरीको पक्राउ तथ्यांक हेर्दा विमान होस् या गाडीबाट, नेपालगन्जदेखि काठमाडौंमा ब्राउनसुगर पुगिरहेको छ ।

बाँके प्रहरीले साउनमा मात्रै २० जनालाई लागु औषधीसहित पक्राउ गरेको छ । यो तथ्यांकले पनि झण्डै एक दिनमा एक जना कारोबारी पक्राउ परेको देखाउँछ ।यसैबीच, बाँके प्रहरीले आइतबार कल्लु कवाडियालाई पक्राउ गरेको छ ।

प्रहरीले कवाडियालाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ । नेपालगन्ज–११ का कवाडियालाई प्रहरीले १४ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । ठूलो मात्रासहित एकजना पक्राउ गर्दा उसको बयानका आधारमा त्यस्तै ठूला कारोबारी पक्राउ पर्ने गरेका छन् । नेपालगन्जमात्रै होइन, कोहलपुरबाट पनि प्रहरीले लागुऔषध कारोबारीलाई धमाधम पक्राउ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्