५ दिनमा १३ सय ५५ ट्रिप फोहोर खसालियो



काठमाडौं ।

काठमाडौं महानगरपालिकाले ५ दिनमा १३ सय ५५ ट्रिप फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा खसालेको छ ।

स्थानीयले आन्दोलन स्थगित गरेसँगै द्रुत गतिमा फोहोर उठाइएको जानकारी दिँदै कामपा वातावरण तथा कृषि विभाग प्रमुख सरिता राईले आइतबार नेपाल समाचारपत्रलाई भन्नुभयो– ‘स्थानीयले अवरोध नगरेका कारण फाहोर व्यवस्थापन गर्न सजिलो भएको छ ।’

उहाँका अनुसार यही अवस्थामा फोहोर विसर्जन भइरहे अब १० दिनभित्र महानगरक्षेत्रको फोहोर उठाइसक्ने छ । कामपा ल्यान्डफिल साइट इन्जिनियर सरकारदीप श्रेष्ठका अनुसार भदौ १ गतेयता १ हजार ३ सय ५५ ट्रिप फोहोर बिसर्जन भइसकेको छ । उहाँका अनुसार भदौ १ गते १ सय ८८, २ गते १ सय ८४, ३ गते २ सय ८८, ४ गते २ सय ८० र ५ गते ३ सय १५ ट्रिप फोहोर खसेको छ । राजधानीको फोहोर ट्रान्सफर स्टेसनबाट बाहिर जाने र ट्रान्सफर स्टेसनमा थपिने काम जारी रहेको छ ।

फोहोर खसाल्नेभन्दा फोहोर थुप्रिने क्रम बढेको बताउँदै श्रेष्ठले भन्नुभयो– ‘ट्रान्सफर स्टेसनमा फोहोर आउने अनुपातमा फोहोर लैजान सकेका छैनौं । त्यसैले यहाँ फोहोर घट्न सकेको छैन ।’ कामपाले अहिले पनि नेपाल प्रहरी र शसस्त्र प्रहरी बलको सहयोगमा फोहोर व्यवस्थापन गरिरहेको छ । नेपाल प्रहरीका प्रवक्त डीआइजी टेकप्रसाद राईले दुई महिनादेखि थुप्रिएको फोहोर पूर्ण रूपमा सफा नहुँदासम्म प्रहरी परिचालन भइरहने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो– ‘सुरक्षा हटाउनै पर्ने भए काठमाडौं, नुवाकोट र धादिङको सीडीयो र प्रहरी प्रमुखको निर्णयमा मात्र सम्भव छ । उहाँहरूले आग्रह गरेअनुसार प्रहरी परिचालन गरेका हौं, उहाँहरूकै निर्देशनमा मात्र प्रहरी परिचालन रोकिनेछ ।’

विभिन्न माग राखेर गरेर अवरोध गरिरहेका स्थानीयले प्रहरी परिचालन फोहोर खसाल्ने थालेपछि अवरोध गर्न छाडेका हुन् । हाल बन्चरेडाँडा ल्यान्डफिल साइटमा काठमाडौं र ललितपुर गरी दुई महानगरसहित १७ स्थानीय निकायको फोहोर खसालिरहेको भए तापनि कामपाको दायित्व बढी भएको कारण फोहोर व्यवस्थापनमा समस्या आए कामपा अघि बढ्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्