बनेपामा फुल कन्ट्याक्ट कराँते



काभ्रे  ।

नेपाल केनसिनकान कराँते संघ काभ्रेको आयोजनामा बनेपामा राष्ट्रिय खुल्ला फुल कन्ट्याक्ट कराते प्रतियोगिता आयोजना गरिएको छ । १२ जिल्लाका १ सय ५० खेलाडीहरूले प्रतियोगितामा विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका छन् ।

प्रतियोगिताको उद्घाटन बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख शान्तिरत्न शाक्यले नगरपालिकामा हुने राष्ट्रियस्तरका प्रतियोगिताहरूलाई स्थानीय सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो ।

बनेपामा कभर्डहल तथा अन्य खेलसँग सम्वन्धित संरचनाहरू निर्माणका लागि आवश्यक व्यवस्थापन गर्ने तयारीमा स्थानीय सरकारले प्राथमिकता दिएकाले खेललाई अनुशासित बनाएर खेल्न खेलाडीहरूलाई अनुरोध गर्नुभयो । पूर्वराज्यमन्त्री कञ्चनचन्द्र बादेले प्रतियोगिताले सम्बन्धसँगै व्यक्तिको क्षमता विकास हुने बताउनुभयो । अध्यक्ष कपिलदेव थापाले पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा विभिन्न जिल्लाबाट सहभागी भएका खेलाडीहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो । कार्यक्रममा अध्यक्ष थापा, उपाध्यक्ष एवं कराँते खेलका नेपाल ब्रान्च चिफ रहदेव पोटे, विमलकुमार श्रेष्ठ लगायतलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । अन्य खेलाडीहरूलाई पनि हौसला स्वरूप सम्मान गरिएको थियो ।

बनेपाको लायकु मञ्चमा आयोजित कार्यक्रममा १२ जिल्लाका विभिन्न तौल समुहका १ सय ५० खेलाडीहरूले प्रतिस्पर्धा गरेका छन् । पुरुष तर्फ ३५, ४५, ५५ केजी र हेभिवेट खुल्ला तथा महिला तर्फ ३५, ५० र हेभिवेट खुल्ला तर्फको विद्यामा प्रतिस्पर्धा गराईएको छ । प्रत्येक तौल समुहका प्रथम, दोश्रो र तेश्रो हुनेलाई नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र उपलब्ध गराइनेछ । प्रथम हुनेले १५ हजार, दोश्रो हुनेलाई १० हजार र तेश्रो हुने दुईजनाले ५-५ हजार नगद पाउनेछन् । प्रतियोगितालाई विभिन्न संघ संस्थामार्फत सहयोग प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्