गण्डकीले ‘स्टेट गेम’ को अवधारणा अघि सा-यो



 पोखरा ।

यतिबेला गण्डकी प्रदेशले खेलकुदमा आलोचना खेपिरहेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नजिकिँदै गर्दा समेत गण्डकी प्रदेश सरकार, खेलकुद मन्त्रालय तथा खेलकुद परिषद्ले कुनै कदम नचालेको भन्दै खेलाडी, प्रशिक्षक तथा खेल पदाधिकारीहरूले आलोचना गरिरहेका छन् ।

तर, गण्डकी प्रदेश खेलकुद परिषद्ले भने नयाँ रणनीतिलाई अघि सारेको छ । यो वर्ष नवौंको तयारीमा ढिला गरेको गण्डकी प्रदेशले प्रदेशको खेलकुदको विकास र खेलाडी उत्पादनलाई जोड दिनका लागि गण्डकी ‘स्टेट गेम’ को अवधारणालाई अघि सारेको हो ।३९ वर्षपछि पोखरामा दोस्रो पटक हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगितामा त्यति चासो नदिएको भनेर भनिरहँदा प्रदेशले भने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै गर्दै गण्डकी प्रदेश खेलकुद प्रतियोगिता ‘स्टेट गेम’को आयोजना गर्न लागेको हो ।

‘यो हामीले नवौंका लागि मात्रै नभई आगामी दिनमा समेत निरन्तरता दिन सकिन्छ कि भन्ने हिसाबले अघि बढाएका हौँ’ खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेज गुरुङले भने । उनका अनुसार अब प्रत्येक वर्ष गण्डकीका खेलाडी उत्पादन गर्न हेतुले स्टेट गेमको प्रयास गरिएको हो । उनले राष्ट्रिय स्तरको प्रतियोगिता नेपालमा निरन्तर नहुने सुनाउँदै प्रदेशले भने वर्षेनी प्रतियोगिताका आयोजना गराउन आवश्यक रहेको स्पष्ट पारे । खेलाडीका लागि यस प्रकारको खेलले थप हौसला प्रदान गर्ने विश्वास प्रदेश खेलकुद परिषद्को रहेको उनले सुनाए ।

‘अहिले नवौं भनिएको छ, यस्ता प्रतियोगिता नेपालमा निरन्तर रूपमा छैनन् । कहिले हुने कहिले नहुने भइराखेको छ’ उनले भने, ‘हामीले कम्सेकम हाम्रो प्रदेशमा एउटा प्रदेश स्तरीय खेल भइराखोस् भन्ने सन्देश दिन खोजेका हौँ ।’ उनले बजेटको माग गर्दापनि सोहीअनुरूप माग गरिएको बताए । हरेक वर्ष प्रतियोगिता गराउने हिसाबले राज्यलाई सचेत गराउने गरी परिकल्पना गरिएको उनको भनाई छ ।
हाल नवौंका लागि लक्षि गरे पनि यो परिकल्पना आगामी वर्षदेखि निरन्तर हुने योजना रहेको छ । तर, यसले निरन्तरता पाउँछ कि पाउँदैन भन्नेमा आशंका देखिएको छ । आगामी मंसिरमा हुने निर्वाचनले यसलाई प्रभावपार्ने देखिन्छ ।

परिषद्ले ११ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखहरूको छलफल पश्चात कार्यतालिका सार्वजनिक गरेको हो । नवौं राष्ट्रिय खेलकुदको तयारीमा रहेको परिषद्ले दुई चरणमा गरी खेलाडी छनोट गर्नेछ ।पहिलो चरणमा १४ वटा खेलहरूलाई विशेष प्रशिक्षणसहित सोझो छनोट गर्ने गरिनेछ । २२ वटा खेलहरूको जिल्ला छनोटको तयारी थलानी गरिएको छ ।

परिषद्ले पहिलो चरण आजदेखि (शुक्रबार) सुरु गर्दैछ । २० दिनका लागि तय गरिएको विशेष प्रशिक्षणमा सफ्ट टेनिस, टेनिस, स्क्वास, खो–खो, हक्की, फेन्सिङ, स्विमिङ, ट्राइयाथलन, साइक्लिङ, महिला ह्यान्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ र आर्चरी खेलहरू रहेका छन् ।

२२ खेलका लागि जिल्ला छनोट प्रतियोगिता भदौ ९ देखि १२ गते सम्म हुनेछ । विशेष प्रशिक्षण र जिल्ला छनोट पश्चात पोखरामा भदौ १५ देखि १८ गते अन्तिम छनोट तालिका तय भएको छ । परिषद्ले यसलाई गण्डकी खेलकुदको ब्रान्डको रुपमा अघि सार्न लागिरहेको छ । आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म आयोजना हुने नवौं खेलकुद प्रतियोगितामा ३६ र २ प्रदर्शनी खेल गरी ३८ खेल हुँदैछ ।

अझै लागेन खेलस्थलको टुंगो

३८ खेल हुने गण्डकीमा अहिलेसम्म कुन खेल कहाँ गर्ने भन्ने टुंगो लाग्न सकेको छैन् । खेलमैदान व्यवस्थापन उपसमिति संयोजक राजेश कुमार गुरुङले चार दशकपछि हुन लागेको प्रतियोगिताले जिल्लावासीमा उत्साह देखिएको प्रतिक्रिया दिँदै भदौ १५ सम्म खेल स्थलको टुंगो लाग्ने बताएका छन् ।

उनले विभिन्न जिल्लामा खेलस्थल निरीक्षण तथा विभिन्न व्यक्तित्वसँगको भेट गरी पुर्वाधारको अवस्था, स्तरलगायत सम्पूर्ण जानकारी राखेपमा पठाइसकेको बताए । सदस्य गुरुङले खेल पूर्वाधार रहेका जिल्लामा बसोबास, अस्पताल, यातायात र सुरक्षाका विषयलाई ध्यानमा राख्दै कुन जिल्लामा कुन खेल सञ्चालन गर्ने भन्ने निर्णय भदौ १५ भित्र टुंगिने बताए । गण्डकीका ११ जिल्लामा नै खेल गराउने योजनाअनुसार अघि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्