एनआरएन राष्ट्रिय कराते हुने



काठमाडौं ।

एनआरएनए स्पोर्ट्स एकेडेमीको आयोजनामा पहिलो संस्करणको एनआरएन राष्ट्रिय कराते च्याम्पियनसिप आयोजना हुने भएको छ ।

आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता भदौ २४ र २५ गते आयोजना हुने जानकारी गराएको छ । सातदोबाटोस्थित कराते हलमा आयोजना हुने दुई दिने प्रतियोगितामा पुरुषतर्फ ५० केजी, ५५ केजी, ६० केजी, ६७ केजी, ७५ केजी, ८४ केजी र ८४ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ । त्यस्तै, महिलातर्फ ४५ केजी, ५० केजी, ५५ केजी, ६१ केजी, ६८ केजी र ६८ केजी भन्दा माथिको तौल समूह प्रतिस्पर्धा हुनेछ ।

त्यसैगरी, महिला तथा पुरुष एकल काता, टिम काता र टिम कुमुतेमा समेत प्रतिस्पर्धा हुनेछ । नेपाल इन्भेस्टमेन्ट बैंक, हिमालयन बैंक र मेघा बैंक लगायतका निकायहरूको सहयोगमा आयोजना हुन लागेको प्रतियोगितामा विभिन्न सात वटा प्रदेश, विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाली प्रहरी, नेपाल ए पि.एफ र एनआरएनसहित ११ टिमका करिब ३ सय १० खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा प्रत्येक तौल समूहमा पहिलो हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले जनही पाँच–पाँच हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, महिला तथा पुरुषतर्फ सर्वश्रेष्ठ हुने खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्