एट्लेटिकोको विजयी सुरुवात



लन्डन, (एजेन्सी)  । 

एट्लेटिको मेड्रिडले नयाँ सिजनको स्पेनिस ला लिगामा विजयी सुरुवात गरेको छ । गेटाफेलाई उसैको मैदानमा ३–० गोलअन्तरले पराजित गर्दै एट्लेटिकोले विजयी सुरुवात गरेको हो ।

सोमबार राति भएको खेलमा एट्लेटिकोको जित दिलाउन अल्भारो मोराटाले दुई तथा एन्टोइन ग्रिजमनले एक गोल गरेका थिए । पोर्चुगिज मिडफिल्डर जोआओ फेलिक्सले तीन गोलमै असिस्ट प्रदान गरे । कोलिसिअम अलफन्सो पेरेज स्टेडियम गेटाफेमा एट्लेटिकोले १५औं मिनेटमा मोराटाको गोलमा अग्रता लिन सफल भयो । उनले फेलिक्सको पासमा गोल गर्न सफल भए ।

खेलको ५९औं मिनेटमा मोराटाले फेलिक्सकै पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । ७५औं मिनेटमा फेलिक्सकै पासमा परिवर्तित खेलाडी एन्टोइन ग्रिजमनले गोल गर्दै टोलीको जित पक्का गरे ।

ग्रिजमन ६२औं थोमस लेमारको स्थानमा मैदानमा छिरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा एट्लेटिको विजयी हुन सफल भयो । जितसँगै एट्लेटिको तीन अंक जोडेको छ । पराजित गेटाफेले अंकको खाता खोल्न सकेको छैन । ला लिगाकै अर्काे खेलमा एथलेटिको बिल्वाओ र मलोर्काले गोलरहित बराबरी खेल्दा रियल बेटिसले इल्चेलाई ३–० ले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्