खेलपछि कोन्टे र टुचेलको झगडा



लन्डन, (एजेन्सी) । 

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार चेल्सी र टोटेनहमबीचको खेल पश्चात दुवै टोलीका प्रशिक्षकहरुबीच झगडा भएको छ ।

चेल्सीका प्रशिक्षक थोमस टुचेल र स्पर्सका एन्टोनियो कोन्टे खेल दौरान र खेलपछि एक अर्काविरुद्ध भनाभनमा उत्रँदा खेलपछिको माहोल एकाएक तनावग्रस्त बनेको थियो ।

खेलमा चेल्सीले दुई पटक अग्रता लिएपनि जित भने दर्ता गर्न सकेन । दोस्रो हाफको ६९औं मिनेटमा टोटेनहमले बराबरी गोल गरेपछि कोन्टेले खुसियाली मनाउने क्रममा टुचेल फोर्थ अफिसियलसामु गोलप्रति असन्तुष्टि जनाईरहेका थिए । यसक्रममा दुवै प्रशिक्षकबीच भनाभनको अवस्था सिर्जना भएको थियो । त्यतिबेला नै रेफ्रीले दुवैलाई पहेंलो कार्ड देखाएका थिए ।

त्यसपछि चेल्सीले रिस जेम्सको गोलमा अग्रता लिँदा टुचेलले स्पर्सको बेन्च अगाडिबाट आफ्नो समर्थकसम्म झन्डै ५० मिटर कुदेर खुसी मनाए । सामान्यतया यस अवस्थामा रेफ्रीले पहेंलो कार्ड दिनुपर्ने भएपनि खेलको त्यसो गरेनन् । खेलको इन्ज्युरी समयमा स्पर्सले कर्नर लिने क्रममा क्रिस्टियन रोमेरो र मार्क कुकुरेलाबीच पेनाल्टी क्षेत्रभित्र तानातान भयो । त्यसबेला रोमेरोले कुकुरेलाको कपाल ताने तर रेफ्रीले फल दिएनन् । त्यसपछि आएको कर्नरमा ह्यारी केनले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए ।

खेल सकिएपछि हात मिलाउने क्रममा दुई प्रशिक्षकबीच पुनः भनाभन भयो । हात मिलाउने क्रममा एक अर्कासँग भनाभन हुँदा दुवै टोलीका अफिसियल र प्रशिक्षक नै उनीहरुलाई छुट्टयाउन आउनु परेको थियो । रेफ्री एन्थोनी टेलरले यसपटक भने दुवैलाई रातो कार्ड दिए ।

पोस्ट म्याचमा दुवै प्रशिक्षकले यस घटनाबारे खुलेर बोल्न चाहेनन् । टुचेलले खेलका दौरान यसो हुने भएपनि रेफ्रीको कमजोरीका कारण चेल्सी जितबाट बन्चित भएको बताए । यता कोन्टेले भने प्रशिक्षकको झगडाको विषय खेलभन्दा महत्त्वपूर्ण नरहेको बताए । आइतबार राती नै कोन्टेले सामाजिक सन्जाल इन्स्टाग्राममा भने घटनालाई लिएर व्यंग्य समेत गरेका थिए ।

चेल्सी र टोटेनहमले अंक बांडे

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको लन्डन डर्बीमा चेल्सी र टोटेनहम हट्सपरले २–२ को रोमान्चक बराबरी खेल्दै समान अंक बाँडे । घरेलु टोली चेल्सीले दुई पटक अग्रता लिएपनि खेल जित्न सकेन । स्टामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीका लागि कालिडु कौलिबाली र रिस जेम्सले अग्रता दिलाउँदा टोटेनहमका पिएर एमिल होएबिएर र ह्यारी केनले बराबरी गोल फर्काए ।

चेल्सीले खेलको अधिकांश समय बल पोसेसन र आक्रमणमा पकड जमाएपनि टोटेनहमले खेलको अन्तिम मिनेटमा बराबरी गोल फर्काएको थियो । यस बराबरीसँगै दुवै टोलीको दुई खेलबाट चार अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्