स्यान्टु उच्च शिक्षाको लागि अष्ट्रेलिया जाँदै



काठमाडौं ।

टेबुल टेनिसका राष्ट्रिय च्याम्पियन स्यान्टु श्रेष्ठलाई मंगलबार एक कार्यक्रमविच अखिल नेपाल टेबल टेनिस संघले उज्वल भविष्यको शुभकामना सहित बिदाई गरेको छ ।

संघको लैनचौरस्थित टेबल टेनिस कभर्डहलमा संघका राष्ट्रिय अध्यक्ष चतुरानन्द राजबैद्यले च्याम्पियन श्रेष्ठलाई खादा तथा राष्ट्रिय झण्डा प्रदान गरेर विदाई गरे । यस्तै श्रेष्ठलाई संघका बरिष्ठ उपाध्यक्ष एवं काठमाण्डौ जिल्ला टेबल टेनिस संघका अध्यक्ष धर्ममान बज्राचार्य, प्रमुख प्रशिक्षक संजीव कुमार ढुङ्गेल, प्रशिक्षकहरु, खेलाडीहरु लगायतले खादा, अविर सहित उज्वल भविष्यको लागि शुभकामना सहित बिदाई गरे ।

राष्ट्रिय च्याम्पियन स्यान्टु उच्च शिक्षा अध्ययन गर्नका लागि अष्ट्रेलियतफै प्रस्थान गर्ने कार्यक्रम रहेको छ । ३ पटकको च्याम्पियन स्यान्टुले दक्षिण एशियाली खेलकुदमा १ रजत र ३ कास्य पदक प्राप्त गर्न सफल भएको संघका बरिष्ठ उपाध्यक्ष एव काठमाण्डौ जिल्ला टेबल टेनिस संघका अध्यक्ष धर्ममान बज्राचार्यले जानकारी गराए ।

गुणराजलाई बिदाई

अन्तर्राष्ट्रिय मुवा थाई विजेता गुणराज रुचाललाई मंगलबार एक कार्यक्रमविच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले शुभकामना सहित बिदाई गरे । रुचालले भाद्र ४ गते कम्बोडियाको नोम पेन्हमा आयोजना हुने ५७ केजिको प्रोफेसनल फाईटमा कम्बोडियाका खेलाडी थुन ईङ्गलेसंग प्रतिस्पर्धा गर्ने छन् । रुचालको प्रशिक्षकमा विजय लामा रहेका छन् । बुधबार थाईल्याण्ड तर्फ प्रस्थान गर्ने रुचालले थाईल्याण्डको टप फाईट मुवा थाई जिममा १ हप्ता प्रशिक्षण लिने कार्यक्रम रहेको छ । एक हप्ताको प्रशिक्षण पश्चात रुचाल ४ गते हुने प्रतिस्पर्धाका लागि कम्बोडिया प्रस्थान गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्