डिफेन्डर कोडी एभर्टनमा अनुबन्धित



लन्डन, (एजेन्सी) ।

इंग्लिस प्रिमियर लिग क्लब एभर्टनले डिफेन्डर कोनर कोडीलाई अनुबन्ध गरेको छ । एभर्टनले डिफेन्डर कोडीलाई उल्भ्सबाट लोनमा अनुबन्ध गरेको हो । एभर्टनले एक सिजनका लागि उनलाई लोनमा अनुबन्ध गरेको हो । उल्भ्सले डिफेन्डर कोडीलाई स्थायी खेलाडीको रुपमा अनुबन्धको अवसर समेत दिएको छ ।

२९ वर्षीय कोडीले एभर्टनमा ३० नम्बरको जर्सी लगाउने छन् । कोडी सन् २०१५ मा हडर्सफिल्ड टाउनबाट उल्भ्स आएका थिए । उल्भ्सका लागि कोडीले ३ सय बढी खेल खेलिसकेका छन् । इंग्ल्यान्डका लागि उनले १० म्याच खेलेका छन् ।त्यसैगरी बेल्जियन फरवार्ड ड्रिज मर्टेन्स टर्किस क्लब गालातासारेमा अनुबन्धित भएका छन् । टर्किस क्लबले मर्टेन्सलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो । ३५ वर्षीय फरवार्डले गालातासारेसँग एक वर्षको सम्झौता गरेका छन् । इटालियन क्लब नापोलीसँगको सम्झौता अन्त्य गर्दै उनी टर्की आएका हुन् । नापोलीका लागि उनले २ सय ९५ लिग खेलमा १ सय १३ गोल गरेका थिए ।

उनी २०१३ मा नापोली आएका थिए । बेल्जियमका लागि उनले १ सय ५ खेलमा २१ गोल गरिसकेका छन् । त्यसैगरी इंग्लिस प्रिमियर लिग क्लब उल्भ्सले पोर्चुगिज फरवार्ड गोन्कालो गुएडेसलाई अनुबन्ध गरेको छ । उल्भ्सले गुएडेसलाई स्पेनिस क्लब भ्यालेन्सियाबाट अनुबन्ध गरेको हो । २५ वर्षीय फरवार्डले उल्भ्ससँग पांच वर्षको सम्झौता गरेका छन् । गुएडेसलाई उल्भ्सले २७.५ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । राउल जेमिनेज चोटको कारण लामो समय मैदान बाहिर रहने भएपछि उल्भ्सले उनलाई अनुबन्ध गरेको हो । उनी २०१८ मा पिएसजीबाट भ्यालेन्सिया आएका थिए । भ्यालेन्सियाका लागि १ सय ४६ ला लिगामा २८ गोल गरेका छन् ।

उनले स्पेनिस क्लबका लागि कुल १ सय ७८ खेलमा ३६ गोल गरेका छन् । उनले पोर्चुगलका लागि ३२ खेल ७ गोल गरिसकेका छन् । त्यस्तै, म्यानचेस्टर युनाईटेडका पूर्व गोलकिपर सर्जियो रोमेरो अर्जेन्टिनी क्लब बोका जुनियर्समा अनुबन्धित भएका छन् । अर्जेन्टिनी गोलकिपर रोमेरोलाई बोका जुनियर्सले फ्री ट्रान्सफरमा एक वर्षका लागि अनुबन्ध गरेको हो । ३५ वर्षीय गोलकिपरले गत सिजन इटालियन क्लब भनेजियाबाट खेलेका थिए । भनेजियाका लागि उनले १६ म्याच खेलेका थिए । उनी २०२१ मा युनाईटेडबाट इटाली आएका थिए । अर्जेन्टिनाका लागि उनले ९६ खेल खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्