दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र



बाजुरा । 

बाजुराको सदरमुकाम मार्तडीस्थित बहुउद्देश्यीय भनिएको कभर्डहल अलपत्र अवस्थामा रहेको छ । विगत नौ वर्षदेखि निर्माण कार्य शुरु भएको कभर्डहल हालसम्म पूरा भएको छैन । नेताहरूले वर्षेनि योजना तथा बजेट ल्याउँछन्, तर काम पूरा हुँदैन । मार्तडी कभर्डहल निर्माणका लागि दुई करोडभन्दा बढी रकम खर्च भइसकेको छ । तत्कालीन सांसद कर्णवहादुर थापाको पालामा ८० लाख रुपैंयाबाट सुरुवात गरेको कभर्डहलकै लागि हालसम्म दुई करोडौं लगानी रुपैंयाँ लगानी भइसकेको हो ।

सांसद लालबहादुर थापाले संघीय सरकारबाट ५० लाख रुपैयाँ, त्यसैगरी प्रदेश सांसद तथा तत्कालिन भौतिक योजना मन्त्री प्रकाश शाहले ८० लाख रुपैयाँ बराबरको बजेट खर्च गरे । राष्ट्रीय खेलकुद परिषद्बाट ४० -४० लाख गरी असी लाख रुपैंया पनि कभर्डहलमै खर्च भएकोे जिल्ला खेलकुद विकास समिति बाजुराका कार्यालय प्रमुख लक्ष्मी बडुवालले बताउनुभयो । यस आर्थिक वर्षमा पनि २ करोड रुपैयाँ आएको छ । तर, बाउलीमा खेलकुद मैदान निर्माण गर्ने भन्ने कुरा छ, कहाँ लगानी हुने थाहा छैन कार्यालय प्रमुख बडुवालले भन्नुभयो ।

नेताको पहुंचमा वर्षेनी लगानी हुन्छ, तर कभर्डहल उपयोग विहिन छ । स्थानीयको गुनासो छ । उपयुक्त ठाउँ छनौट नगरी केही नेता कार्यकर्ताको भरणपोषण स्वार्थसिद्धिका लागि कभर्डहलका नाममा ब्याडमिन्टन कोर्डमा ठूलो धनराशि खर्च भएको छ बडीमालिका नगरपािलकाका संथापक मेयर पडम बडुवालले भन्नुभयो । संघीय सांसद लालबहादुर थापाले पठाएको ५० लाख रुपैयाँ बडीमालिका नगरपािलका मार्फत आएको खेलकुद विकास समितिले ट्यान्डर गर्न पाउनुपर्ने भनी विवाद आएपछि उक्त रकम भने फ्रिज भएको हो । त्यसपछि बडीमालिका नगरपालिका र प्रदेश सरकारवाट पनिलगानी भएको छ । लगानीको हिसाब छैन उपलब्धि शून्य छ बडुवालले भन्नुभयो ।

उसो त लागत स्टिमेटअनुसार काम नभएको भन्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी चेतराज बरालको पालामा प्राविधिक इन्जिनियरबाट ८ लाख रुपैयाँ जरिवानास्वरूप प्रविधिकलाई तिराएको सूचना पनि छ पूर्व नगरप्रमुख बडुवालले भन्नुभयो ।‘करौडौं रुपैंया लगानी गरी निर्माण गरिएको उक्त कभर्डहल अहिले कौडीको भाउमा छ । बेकामे कभर्डहलकै कारण सदरमुकाम भित्रको सडक निर्माणमा असर परेको छ,’ पूर्वमेयर बडुवालले गुनासो गर्नुभयो । भवन पनि अलपत्र छ आएको बजेटले प्याराफिट सहितको खेल मैदान निर्माण गर्न सके काम लाग्थ्यो, चौरको वालसमेत भत्किई सकेको छ ।
कभर्डहल ब्याडमिन्टन खेल्ने कोर्टमा सीमित छ ।

उपयुक्त स्थान छनोट नगरी प्राविधिक लागत इस्टिमेटबिना हचुवाको भरमा निर्माण गरिएको कभर्डहल ब्याडमिन्टन खेल्नेबाहेक अरु कुनै काममा प्रयोग नहुने प्राविधकले बताएका छन् । संघ प्रदेशबाट कभर्ड हल निर्माणका लागि भन्दै वर्षेनि बजेट आइरहेको छ, उपयुक्त स्थान छनोट नहुँदा बजेट सदुपयोग हुन सकेको गुनासो स्थानीयको छ । कभर्डहल निर्माणका लागि चारपटक ठेक्का भएको छ । स्थानीयको आवश्यकताभन्दा पनि समिति व्यक्तिको स्वार्थपूिर्तका लागि कभर्डहलको नाममा ठूलो धनराशि खर्च भएको छ बडीमालिका नगरपालिकाका संस्थापक नगरप्रमुख पदम बडुवालले भन्नुभयो । सदरमुकाम मार्तडीको बहुचर्चित ऐतिहासिक जग्गा रिठा गह्रा मिचेर बनाइएको कभर्डहल काम न काजको बनेको छ ।

प्रतिक्रिया दिनुहोस्