पीएसजीको सानदार सुरुवात



लन्डन, (एजेन्सी) ।

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नयाँ सिजनको फ्रेन्च लि वानमा सानदार सुरुवात गरेको छ । अर्जेन्टिनी फरवार्ड लियोनल मेसीले दुई गोल र एक असिस्ट तथा ब्राजिली फरवार्ड नेयमारले तीन असिस्ट योगदानसँगै एक गोल गरेपछि पीएसजीले नयाँ सिजनको फ्रेन्च लिग वानमा सानदार सुरुवात गरेको हो ।

पिएसजीले घरेलु टोली क्लेरमन्ट फुटमाथि ५–० गोलअन्तरको सानदार जितसहित नयाँ सिजनमा सुखद् सुरुवात गरेको हो । थप दुई गोल अचरफ हाकिमी र कप्तान मार्किन्हसको नाममा रह्यो । गाब्रियल मोन्ट पाएड स्टेडियम क्लेरमन्टमा शनिबार राति भएको एकपक्षीय खेलमा पीएसजीले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल थपेको थियो ।

खेलको नवौं मिनेटमा नेयमारले मेसीको पासमा गोल गर्दै गोलको खाता खोलेका थिए । खेलको २६औं मिनेटमा अचरफ हाकिमीले नेयमारको पासमा गोल गर्दै अग्रता दोब्बर पारे । खेलको ३८औं मिनेटमा कप्तान मार्किन्हसले नेयमारकै पासमा गोल गरेपछि पीएसजीले पहिलो हाफमा ३–० को आरामदायी अग्रता लिन सफल भएको थियो । दोस्रो हाफमा भएका दुवै गोलमा भने मेसीले आफ्नो नाम लेखाउन सफल भए । खेलको ८०औं मिनेटमा नेयमारकै असिस्टमा मेसीले गोल गरेपछि पीएसजी फराकिलो जिततर्फ अग्रसर बन्यो ।

खेलको ८६औं मिनेटमा मेस्सीले लियान्द्रो ड्यानियल पारेडेसको पासमा व्यक्तिगत दोस्रो र टोलीका लागि पाँचौैं गोल गर्दै पीएसजीलाई सानदार जित दिलाए । ग्रोइन इन्ज्युरीका कारण यस खेलमा फ्रान्सेली युवा स्टार केलियन एमबाप्पे टोलीमा थिएनन् । यो जितसँगै पीएसजीले तीन अंक जोडेको छ । क्लेरमन्टले अंक जोड्न सकेको छैन । मोनाको र लियोनले पनि विजयी सुरुवात गरेका छन् ।

फाबियनलाई भित्र्याउँदै पीएसजी

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्पेनिस मिडफिल्डर फाबियन रुइज पेनालाई अनुबन्ध गर्ने भएको छ । लिग वान क्लब पीएसजीले इटालियन क्लब नापोलीबाट फाबियनलाई अनुबन्ध गर्ने भएको हो । पीएसजी सेन्ट्रल मिडफिल्डर अनुबन्धको नजिक पुगेको बताइएको छ ।
फाबियन अनुबन्धका लागि म्यानचेस्टर युनाइटेडले समेत नजर लगाएको थियो । तर, युनाइटेडको प्रस्ताव नापोलीले अस्वीकार गरेको थियो । २६ वर्षीय मिडफिल्डर फाबियन बेटिसबाट नापोली आएका थिए । नेपोलीका लागि उनले १ सय २५ सिरी ए खेलमा १८ गोल गरेका छन् ।स्पेनका लागि उनले १५ खेलमा एक गोल गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्