अमेरिकी सहायक विदेशमन्त्री लु काठमाडौंमा



काठमाडौं । 

अमेरिकी सेनाको नेसनल गार्ड स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने निर्णयबारे सरकारले अमेरिकालाई उक्त जानकारी दिन ढिलाई गरिरहेको भन्दै सदनमा चर्को आलोचना भइरहेको समयमा दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विदेशमन्त्री डोनाल्ड लु बिहीबार काठमाडौं आउनुभएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गरी अमेरिकी सहायक विदेशमन्त्री दक्षिण एसियाको नियमित भ्रमणको सिलसिलामा नेपालको दुईदिने भ्रमणमा काठमाडौं आउनुभएको जानकारी दिएको छ । दूतावासका अनुसार अमेरिकी सहायक विदेशमन्त्री लुले काठमाडौंमा अमेरिकी विदेशमन्त्रीद्वारा वार्षिक रूपमा प्रदान गरिने अवार्ड फर कर्पोरेट एक्सिलेन्स नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णालाई प्रदान गर्ने कार्यक्रम रहेको जनाएको छ । पूर्णाले परम्परागत रूपमा सीमान्तकृत व्यक्तिहरू र शोषणबाट बचेकाहरूको सशक्तीकरण गर्दै नीतिपरक उत्पादनको प्रवद्र्धन गर्दै आएको पनि दूतावासले जनाएको छ ।

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्काका साथै विभिन्न दलका नेता, व्यवसायीका साथै नागरिक समाजका अगुवाहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ । भेटमा नेपाल र अमेरिका बीचको ७५ वर्ष लामो मित्रताका विविध आयामलगायत दुई देशको आर्थिक विकासप्रतिको अमेरिकी प्रतिवद्धता, लोकतन्त्र तथा मानवअधिकारलगायतका विषयमा कुरा हुने दूतावासले जनाएको छ ।

कूटनीतिक वृत्तमा भने अमेरिकी सहायक विदेशमन्त्री लुको नेपाल भ्रमणलाई एसपीपीलाई अगाडि बढाउन दबाबको रूपमा हेरिएको छ । यसअघि गत नोभेम्बरमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे सदनमा बहस चर्किरहेको समयमा लुले नेपाल भ्रमण गर्नुभएको थियो । त्यस बेला उहाँले प्रधानमन्त्रीलगायत राजनीतिक दलका शीर्ष नेताहरूलाई भेटेर एमसीसी सदनबाट पारित गर्न दबाब दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्