चेल्सीको संघर्षपूर्ण जित



लन्डन, (एजेन्सी)  । 

इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा क्लब अमेरिकाविरुद्ध संघर्षपूर्ण जित निकालेको छ ।
मिडफिल्डर मेसन माउन्टले खेलको अन्तिम समयतिर गोल गरेपछि चेल्सीले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा क्लब अमेरिकालाई पराजित गरेको हो ।

पहिलो हाफ गोलरहित रहेको खेलमा चेल्सी २–१ ले विजयी भएको हो । अमेरिकाको लस भेगासमा चेल्सीले खेलको ५५औं मिनेटमा टिमो वेर्नरको गोलमा अग्रता लिएको थियो । रिस जेम्सको क्रसमा वेर्नरको पहिलो प्रहार गोलरक्षकले बचाएका थिए । तर, उक्त बचाउबाट आएको रिबाउन्डलाई वेर्नरले गोलमा परिणत गरे ।

त्यसको पाँच मिनेटपछि नै जेम्सले आत्मघाती गोल गर्दा खेल बराबरीमा पुगेको थियो । तर, खेलको ८३औं मिनेटमा माउन्टले गोल गर्दै जित पक्का गरे । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार सुन्दर गोलमा परिणत भएको थियो । त्यसपछि, थप गोल नहुँदा चेल्सीले प्रि–सिजनमा विजयी सुरुआत गरेको हो ।

चेल्सीले पहिलो हाफमा अपेक्षित प्रदर्शन गर्न सकेको थिएन । मेक्सिकन टोलीविरुद्ध चेल्सीका स्टार खेलाडीले सोचेजस्तो प्रदर्शन गर्न सकेनन् । दोस्रो हाफमा भने प्रशिक्षक थोमस टुचेलले पूरै टोली परिवर्तन गरेपछि चेल्सीले लय समातेको थियो ।

प्रतिक्रिया दिनुहोस्