स्कटल्यान्डमा नेपाललाई एक जित मात्रै



काठमाडौं । 

नेपाली क्रिकेट टोलीले स्कटल्यान्ड यात्रामा चार खेल खेलेकोमा एक खेलमा मात्रै जित हात पारेको छ । आइतबार भएको खेलमा घरेलु टोली स्कटल्यान्डसँग नेपाल ८ विकेटले हारेको हो । नेपालले दिएको १ सय २९ रनको सामान्य लक्ष्य घरेलु टोलीले २ विकेटको क्षतिमा १९ औं ओभरमा प्राप्त ग-यो । यो हारसँगै नेपालले आईसीसी विश्व कप लिग २ को यो चरणमा मात्र २ अंक जोडेको छ । नेपालले पाँच चरण खेल्दा २० खेलमा १७ अंक जोडेको छ । नेपाल सात टोली सहभागि यस प्रतियोगिताको अंकतालिकामा छैटो स्थानमै रहन बाध्य भयो ।

स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली टोलीले यसअघि पहिलो खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराएर सनसनी मच्चाएको थियो । यो नेपालको स्कटल्यान्डमाथि पहिलो जित समेत हो । तर, शनिबार नामिबियासँगको खेलमा हारेपछि नेपालको पाँचौ स्थान पनि चिप्लियो । यस शृंखलाअन्तर्गत नेपालले नामिबियासँगको पहिलो खेलमा पनि हारको सामना गरेको थियो ।

आसिफ मात्रै जमे

स्कटल्यान्डका कप्तान रिची बेरिंगटनले टस जितेर पहिले ब्याटिङ गर्न नेपाललाई निम्तो दिए । उनले पहिलो खेलमा पहिले ब्याटिङको निर्णय लिँदा नेपालसँग हारको सामना गर्नु परेको थियो । यसपटक टस जितेपछि उनले फिल्डिङ रोजे, जसलाई उनका बलरले सहि साबित पनि गरे । नेपालले केवल १ सय २९ रनको सामान्य विजयी लक्ष्य सोझ्याउन पायो ।
स्कटल्यान्डविरुद्ध पहिले ब्याटिङ गरेको नेपाल ३५.५ ओभरमा १ सय २८ स्कोरमा अलआउट भएको थियो । ओपनर आसिफ शेखबाहेक कोही पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । आसिफले ४० रन बनाएका थिए । अन्य खेलाडीले स्कटल्यान्डका बलरसँग सामना गर्न सकेनन् । अर्का ओपनर कुशल भुर्तेल ३ रनमै आउट भए ।

शुरुदेखि नै दवावमा खेपेको नेपालको लागि देव खनाल र रोहित पौडेलले पनि निरास पारे । उनीहरु समान १०–१० रन बनाए फर्केपछि दीपेन्द्र सिंह ऐरी र आरिफ शेखमाथि रन बढाउन जिम्मेबारी थपियो । दीपेन्द्र र आरिफले निकै दवावमा रहेको नेपाललाई कुनै टेवा दिन पनि सकेनन् । उनीहरु पुरै फ्लप भए । दीपेन्द्रले ७ रन मात्रै बनाए भने आरिफले त रन पनि बनाउन सकेनन् ।

यसपछि विनोद भण्डारीबाट पनि रन बर्सन सकेन । त्यसो त उनले २ चौका प्रहार गरेर नेपाललाई केही आस दिलाए । तर, उनको विस्फोटक ब्याटिङले लय समाउन सकेन । उनी १३ रनमा पभेलियन फर्के र नेपालको बचेको झिनो आस पनि सकियो ।सोमपाल कामी र कप्तान सन्दीप लामिछानेले टोलीको ब्याटिङमा उर्जा थप्न कोशिस गरे । तर, उनीहरुले धेरै लामो इनिङ खेल्न सकेनन् । ९९ रनमा नेपालको आठांै विकेट गुमेपछि उनीहरुले स्कोर १ सय १९ सम्म पु¥याए । सोमपाल ७ रन जोडेर आउट भएका थिए । यसपछि कप्तान सन्दीप २२ रन जोडेर आउट भएपछि नेपाल १ सय २८ रनमा खुम्चिएको थियो ।

नेपालको फिक्का बलिङ

नेपालले पहिलो खेलमा स्कटल्यान्डको ब्याटिङ ध्वस्त बनाएको थियो । यसमा ओपनिङ बलरमा करण केसी र सोमपाल आएका थिए । करणको बलिङ किफायती रह्यो । सोमपालको दुई ओभर बलिङमा स्कट टोलीका ओपनरले रन लुटेपछि उनलाई सन्दीपले रिप्लेस गरे । ता पनि काएल कोएजर र क्रिस्टोफर मेकब्राइडले ५ ओभरमै ३२ रन बटुलेर नेपालको बलिङलाई फिक्का बनाइरहे ।
त्यसो त सन्दीपले मेकब्राइड (१० रन) लाई एलबीडब्ल्यूको धरापमा पारेर नेपाललाई राहत दिलाए । उनीहरुको साझेदारी ४२ रनसम्म पुगेर खतरनाक बनिरहेको थियो ।

तर, यसपछि नेपाली बलरको लागि झनै खराब क्षण रह्यो । कोएजर र क्यालुम मेकलीयोडले निकै आक्रमक खेले । उनीहरुले चौका छक्काको वर्षा गरेर नेपाली बलरलाई निकै निरास पारे । उनीहरुले दोस्रो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । मेकलीएड ६४ रनमा सोमपालको शिकार भए भने कोएजर ४४ रनमा नटआउट रहे । नेपाली बलरमा सोमपालले ३ ओभरमा २६ रन, करणले ४ ओभरमा २१ रन, सन्दीपले ६ ओभरमा ४१ रन, दिपेन्द्रले ३ ओभरमा १६ रन र किशोर महतोले ३ ओभरमा २१ रन खर्चेका थिए ।

प्रतिक्रिया दिनुहोस्