युनाइटेडले मार्टिनेजलाई अनुबन्ध गर्ने



लन्डन, (एजेन्सी) । 

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले डिफेन्डर लिसान्ड्रो मार्टिनेजलाई अनुबन्ध गर्ने भएको छ । युनाइटेडले डच क्लब आयाक्सबाट डिफेन्डर मार्टिनेजलाई अनुबन्ध गर्ने बताइएको छ । २४ वर्षीय डिफेन्डर युनाइटेडसँग सम्झौताका लागि लन्डन पुगिसकेका छन् ।

अर्जेन्टिनी डिफेन्डर मार्टिनेज २०१९ मा आयाक्समा अनुबन्धित भएका थिए । सेन्टर डिफेन्डरले आयाक्समा युनाइटेडका अहिलेका मुख्य प्रशिक्षक एरिक टेन हागको नेतृत्वमा खेलेका थिए । त्यस्तै, युनाइटेडले एरिक्सनसँग औपचारिक रूपमै तीन वर्षको सम्झौता गरेका छन् । युरो २०२० को खेलमा डेनमार्क र फिनल्यान्डबीचको खेलमा उनी अचेत भएर मैदानमा ढलेका थिए । त्यसपछि, उनी लामो समय मैदानबाहिर रहेका थिए ।

अचेत भएर मैदानमा ढलेको आठ महिनापछि उनी प्रिमियर लिगमा फर्कने क्रममा ब्रेनफोडमा आबद्ध भएका थिए । जहाँ ११ म्याच खेल्ने क्रममा उनले एक गोल र चार एसिस्ट गरेका थिए । उनी अझै माथिल्लो स्तरमा खेल्न सक्ने प्रमाणित भएसँगै अहिले युनाइटेडमा आबद्ध भएका छन् । त्यसैगरी, इंग्लिस क्लब म्यानचेस्टर सिटीका विंगर रियाद महरेजले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।

सिटीले शुक्रबार अल्जेरियाका कप्तान महरेजले सम्झौता नवीकरण गरेको जनाएको हो । सम्झौता नवीकरणसँगै महरेज २०२५ सम्म सिटीमा रहनेछन् । ३१ वर्षीय विंगर सन् २०१८ मा लेस्टर सिटीबाट सिटी आएका थिए । महरेजले सिटीका लागि १ सय ८९ खेलमा ६३ गोल गर्दा ४५ असिस्ट गरेका छन् । महरेजले सिटीका लागि तीन प्रिमियर लिग, तीन लिग कप र एफए कप जितिसकेका छन् ।

त्यसैगरी, इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले पनि इटालियन सिरी ए क्लब नेपोलीबाट डिफेन्डर कालिडु कौलीबालीलाई अनुबन्ध गरेको छ । चेल्सीले सेनेगलको कप्तान समेत रहेका ३१ वर्षीय डिफेन्डरलाई चार वर्षको सम्झौता गरेर भित्र्याएको हो । सन् २०१४ मा बेल्जियमको जेन्कबाट नेपोली आएका कौलीबालीले ३ सय १७ म्याच खेले । चेल्सीले लामो समयदेखि उनलाई पछ्याइरहेको थियो । गत सिजनको अन्त्यसँगै टोलीका दुई मुख्य डिफेन्डर एन्टोनियो रुडीगर र आन्द्रिएस क्रिस्टेन्सन बाहिरिएपछि चेल्सीले सेनेगलको राष्ट्रिय टोलीबाट खेलिरहेका डिफेन्डर कौलीबाली अनुबन्धन गरेको हो । कौलीबाली अनुबन्धनमा चेल्सीले ४० मिलियन युरोको हाराहरीमा खर्च गरेको बताइएको छ ।

कौलीबालीले सन् २०१५ मा सेनेगलको राष्ट्रिय टोलीबाट खेलेका थिए । उनले त्यसयता ६२ म्याच खेलेका छन् । सन् २०२१ को अफ्रिका कप अफ नेसन्स जित्दा उनी नै टोलीका कप्तान थिए । चेल्सीमा टड बोहली आएयता कौलीबाली अनुबन्धित हुने दोस्रो खेलाडी बनेका छन् । यसअघि, क्लबले ५० मिलियन पाउन्ड खर्चेर म्यानचेस्टर सिटीका रहिम स्टर्लिङ अनुबन्ध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्